३१ आश्विन २०८३, शनिबार

भारतको नाकाबन्दीले मधेसमा धानको अभाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhanवीरगन्ज, २७ पुस । भारतले धान निर्यातमा लगाएको प्रतिबन्धका कारण स्वदेशी चामल उद्योग सङ्कटमा पर्न थालेका छन् ।

स्वदेशी चामल उद्योगको संरक्षणका लागि सरकारले भारतलाई आग्रह गरेर भए पनि प्रतिबन्ध हटाउन लगाउनुपर्ने उद्योगी व्यावसायीको माग छ । यहाँका अधिकांश चामल उद्योग भारतीय धानमाथि निर्भर रहेका छन् । धान निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा हुनुपर्ने माग चामल उद्योग सञ्चालकको छ ।

“भारतले गत असोज २० गतेदेखि खाद्यान्न अभाव भएको भन्दै धान निकासीमा प्रतिबन्ध लगाएको छ” वीरगन्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुवोध गुप्ताले भन्नुभयो । छ वर्षअघि पनि भारतले खाद्यान्न अभाव भएको भन्दै चार वर्षसम्म धान निर्यातमा रोक लगाएको थियो । बासमतीबाहेक अन्य धानको निर्यातमा लगाएको रोक सन् २०११ को सेप्टेम्बर ९ बाट फुकुवा गरेको थियो ।

स्वदेशी धानको उत्पादनले यहाँका चामल उद्योग मुस्किलले चार महिनामात्र सञ्चालनमा ल्याउन सकिने सङ्घका उपाध्यक्ष सुवोध गुप्ताको भनाइ छ । “स्वदेशी धान अभावका कारण बाध्य भएर नेपाली चामल उद्योगले भारतीय धानमाथि निर्भर हुनुपरेको हो” उहाँले भन्नुभयो ।

भारतीय धान निर्यातमा लगाएको प्रतिबन्धले स्वदेशी चामल उद्योगका अबौँको लगानी डुब्ने र त्यसमा कार्यरत हजारौँं बेरोजगार हुने सम्भावना बढेको छ । भारतले चामलको निर्यातमा भने प्रतिबन्ध लगाइएको छैन् । भारतमा धान सस्तो मूल्यमा पाइने र त्यहाँ उत्पादन लागतसमेत सस्तो भएकाले आयातित भारतीय चामलसँग यहाँका चामल व्यावसायीले प्रतिस्पर्धा गर्न सक्दैनन् ।

स्वदेशी चामल उद्योगलाई प्रोत्साहन गर्नका लागि धानको आयातमा लाग्ने कृषि सेवा सुधार शुल्क घटाउन तथा चामलको आयात शुल्कमा वृद्धि गर्नुपर्ने उद्योगी व्यावसायीको माग छ । अहिले चामलको आयातमा आठ प्रतिशत र धानमा पाँच प्रतिशत कृषि सुधार सेवा शुल्क लिने गरिएको छ ।

गत वर्षको तुलनामा यसवर्ष नेपालमा पाँच लाख मेट्रिक टन धान उत्पादनमा ह्रास आएको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । गतवर्ष मुलुकमा ४७ लाख ८८ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष ४२ लाख ९९ हजार मेट्रिक टन मात्र उत्पादन भएको छ ।

धान निकासी प्रतिबन्धले स्वदेशी चामल उद्योगमा लगानी भएको रु १० अर्ब जोखिममा परेको छ । बारा र पर्सामा मात्र २५० चामल उद्योग रहेका छन् भने तिनमा रु एक करोडदेखि रु एक अर्बसम्म लगानी गरिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार, गत आवमा मुलुकमा रु २५ अर्ब २५ करोड ७३ लाख बराबरको सात लाख ३६ हजार मेट्रिक टन धान चामल आयात भएको थियो ।

“हामीले कुनै समय भारतमा चामल निर्यात गर्ने गरेका थियौंँ”, उद्योगी अनिरुद्रप्रसाद गुप्ताले भन्नुभयो, “भारतबाट तयारी चामल होइन, यहाँको माग धान्न सक्ने धान मात्र आयात हुनुपर्दछ ।” स्वदेशी चामल उद्योगलाई प्रोत्साहन गर्ने खालको नीति सरकारले ल्याउनुपर्नेमा उहाँले माग गर्नुभयो । यहाँका उद्योगी व्यावसायीले स्वदेशी चामल उद्योगको प्रवद्र्धन र किसानको हकहितका लागि धान चामल बोर्ड गठन गर्नुपर्ने विगत वर्षदेखि नै माग गर्दै आएका छन् । रासस