६ कार्तिक २०८३, शुक्रबार

पूर्वराजाले के भने ? जसले राजनीतिमा हलचल मच्चाइदियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra Shahaकाठमाडौं, २७ पुस । गणतन्त्रपछिका राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले घुमाउरो ढंगबाट गणतन्त्रको विकल्प खोज्न जनतालाई आह्वान गरेका छन् ।

पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा आइतबार जारी सन्देशमा पूर्वराजा शाहले जनताप्रतिको आफ्नो भार कायमै रहेको र आफूले दरबार छाडे पनि जिम्मेवारी नछाडेको स्पष्ट पारेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

आपसी सद्भाव खल्बलिएको, जनजीवन अस्त–व्यस्त भएको र राष्ट्रिय एकता खल्बलिएको उल्लेख गर्दै पूर्वराजा शाहले जनताबाटै राजसंस्थाको विकल्प खोज्नुपर्ने सन्देशसमेत दिएका छन् ।

त्यो अवस्थामा आफू जिम्मेवारीमा फर्किन तयार रहेको पनि उनले जनाएका छन् ।

‘अब नेपाली जनताले को–कसबाट के–कस्तो दायित्व, भूमिका र भरोसा चाहेका छन्, खुलस्त हुनुपर्दछ भन्ने पनि समयको माग छ,’ पूर्वराजा शाहको सन्देशमा उल्लेख छ, ‘त्यसैले शाहवंशीय राजाहरूले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिँदै राष्ट्रहित र राष्ट्रवासीको सुख, समृद्धि र आत्मीय सन्तुष्टिका निम्ति जनताको नासो जनतालाई सुम्पेर मैले दरबार छाडेको हुँ । तर, सबैले विचार गर्नुपर्ने कुरा हो कि मैले नेपाली घरबार छाडेको छैन अनि नेपाल र नेपालीको ‘आधारको भार’ पनि परित्याग गरेको छैन ।’

पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा आइतबार जारी विज्ञप्तिमा उनले जनताले चाहेको कुरा के हो भन्नुपर्ने उल्लेख गरेका छन् ।

‘देशभित्र अहिले विधि, व्यवस्था, भूरचना र शासन–प्रशासनका कुरालाई लिएर जे–जस्ता बखेडा खडा भएका छन्, यो कदापि राम्रो कुरा होइन । आपसी सद्भाव खल्बलिएर जनसाधारणको जीवन व्यवहारमा जसप्रकार आर्थिक संकट, चरम महँगी, अभाव, अनुत्पादन र बाह्य निर्भरताबाट यतिखेर थप मार परिरहेको छ । नेपाली जनताले अहिले साँझ–बिहान छाक टार्न र सामान्य रूपले जीवन धान्न पनि धौ–धौ परिरहेको छ, यो गम्भीर चिन्ताको विषय हो,’ पूर्वराजाको सन्देशमा उल्लेख छ ।

गत वर्ष प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा ६ फागुनमा दिएको सन्देशमा पूर्वराजाले दोस्रो जनआन्दोलनका वेला आफू र राजनीतिक दलबीच भएको समझदारी कार्यान्वयन गर्न माग गरेका थिए ।