
– रमेश लम्साल
काठमाडौँ, २६ पुस । भूकम्प प्रभावित क्षेत्रमा वस्तुनिस्ट र वैज्ञानिक तथ्याङ्कको अभावमा राहत वितरणमा समस्या भएको छ ।
राष्ट्रिय तथ्याङ्क विभागले २०६८ सालमा सङ्कलन गरेको भन्दा दुई लाख बढी तथ्याङ्क राहत वितरणको क्रममा देखिएपछि सरकारलाई राहत वितरणमा समस्या भएको हो । विभागले १४ जिल्लामा पाँच लाख घरपरिवार रहेको जनाएको थियो । भूकम्प गएलगत्तै उद्धार, राहत वितरणका लागि स्थानीय तहमा आफ्नै ढङ्गले तथ्याङ्क सङ्कलन भएको भएपनि पछिल्लो समयमा प्रभवितको तथ्याङ्क बढ्दै गएको पाइएको छ ।
गोरखा, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुरलगायतका जिल्लामा एकाएक भूकम्पपीडितको सङ्ख्या बढेको छ । वस्तुगत तथ्याङ्कको अभाव एकाततिर छ भने अर्कोतिर वास्तविक भूकम्पपीडितले प्रमाणपत्र नै नपाएको गुनासो आएको छ । सांसदद्वय आङटावा शेर्पा र हरिचरण साहले तथ्याङ्क विभागले सङ्कलन गरेको तथ्याङ्कभन्दा बढी भूकम्पपीडित देखिएकाले राहत वितरणमा समस्या भएको बताउनुभयो ।
वस्तुगत तथ्याङ्क सङ्कलन हुन नसक्दा सरकारी निकाय नै अलमलमा परेको भन्दै सांसदहरुले तथ्याङ्क विभागलाई पुनःपरिचालन गरेर भएपनि सही तथ्याङ्क सङ्कलन गरेर प्रभावित क्षेत्रमा तत्काल राहत वितरण गर्न आग्रह गर्नुभयो । व्यवस्थापिका–संसद्को विकास समितिको आजको बैठकमा धारणा राख्ने अधिकांश सांसदले एकद्वार प्रणालीबाट राहत वितरण र पुनःनिर्माणको काम अगाडि बढाउनुपर्नेमा त्यसो हुन नसकेकोमा आपत्ति जनाउनुभयो ।
शक्ति र पहुँचको प्रभावका आधारमा कतिपय स्थानमा राहत, पुनःनिर्माणको काम पनि हुने गरेको भन्दै सांसदहरु जनककुमारी साउद, अजयशङ्कर नायक, रामकुमार राईले सामाजिक सञ्जालमा देखाउनकै लागि मात्रै पनि भूकम्प प्रभावितको नाम बेचिएको धारणा राख्नुभयो ।
सांसद अमृत बोहोराले त युद्धस्तरमा भूकम्प प्रभावित क्षेत्रमा काम हुनुपर्नेमा त्यसो नभएको भन्दै गुनासो गर्नुभयो । उहाँले अरनिको राजमार्ग अहिलेसम्म पनि सञ्चालनमा आउन नसक्नुको कारण के हो भन्ने प्रश्न समेत गर्नुभएको थियो ।
बजेटको अभाव छैन, कार्यक्रम आउनुप¥यो
बैठकमा अर्थ सचिव लोकदर्शन रेग्मीले भूकम्प प्रभािवत क्षेत्रका पुनःनिर्माणका लागि रकमको अभाव नहुने बताउनुभयो । भूकम्प गएलगत्तै रु ५० करोड विनियोजन गरेर सुरु भएको राहत रकम हालसम्म रु नौ अर्र्ब ५० करोड पुगेको जानकारी दिनुभयो ।
यस्तै सरकारले रु दश अर्ब पुनः निर्माण कोषमा राखेको छ । दातृ निकायले पुनः निर्माणका लागि रु चार खर्ब प्रतिवद्धता जनाएकोमा रु ९१ अर्बको सम्झौता भइसकेको र बाँकी रकम पनि निकट भविस्यमा नै आउने अर्थ सचिवको विश्वास थियो । न्यानो कपडा खरिदका लागि मात्रै अर्थले रु छ अर्ब दुई करोड निकासा गरेको भएपनि कतिपय जिल्लामा सही तथ्याङ्क नभएका कारण जटिलता उत्पन्न् भएको उहाँको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका सचिव सुरेशमान श्रेष्ठले प्राधिकरण नभएको अवस्थामा मात्रै आफूहरुले भूकम्प प्रभावित जनताका लागि काम गरेको जानकारी दिँदै हाल प्राधिकरण नै क्रियाशिल रहेको जानकारी गराउनुभयो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव माधव रेग्मीले मुलुकभर कुल ४१९ गाविस सचिव खाली रहेको मध्ये १५० जना भूकम्प प्रभावित जिल्लाको खाली रहेकामा ४६ जनाको पदपूर्ति भएको र बाँकी पनि अन्य प्रक्रियाका आधारमा मिलाइएको बताउनुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुनबहादुर कार्कीले भूकम्पका कारण आफ्नो मन्त्रालयअन्तर्गत रु चार अर्ब ५५ करोडको क्षति भएको जानकारी दिँदै पुनःनिर्माणका लागि रु चार अर्ब ५२ करोड लाग्ने बताउनुभयो । दोलखा–सिंगटी, धादिङबेसी– आरुघाट र अरनिको राजमार्गको पुनःनिर्माणको काम चालु आवबाटै सुरु हुने बताउनुभयो ।
तातोपानी नाका खुलाउने पहल जारी छ –उपप्रधानमन्त्री
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विजयकुमार गच्छदारले भूकम्पबाट प्रभावित तातोपानी र बाह्रबिसे सडकलाई सहज बनाउन र यातायातसञ्चालन गर्न मन्त्रालयले आवश्यक प्रयत्न गरिरहेको बताउनुभयो । कुटनीतिक तवरले सो सडक खुलाउन सरकार लागि परेको जानकारी दिँदै उपप्रधानमन्त्री गच्छदारले चीन सरकारले उपलब्ध गराउने रु १४ अर्ब रकम सोही सडक विस्तारमा खर्च गरिने स्पष्ट पार्नुभयो ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले न्यानो कपडा वितरणलाई पहिलो प्राथमिकतामा राखेको र सो कार्य सम्पन्न भएपछि पुनःनिर्माणलगायतका काममा केन्द्रित हुने बताउनुभयो । तथ्याङ्क सङ्कलनलाई वस्तुनिष्ठ बनाउन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिइसकेको जानकारी दिँदै उहाँले वडा नागरिक मञ्च, गाविस सचिव, नगरपालिकाले सङ्कलन गर्ने तथ्याङ्क र तथ्याङ्क विभागको तथ्याङ्ककाबीचमा समन्वय गरेर अगाडि बढ्ने विश्वास दिलाउनुभयो ।
व्यवहारिक कठिनाइका कारण कतिपय जिल्लामा राहत वितरणमा समस्या आएको भन्दै उहाँले त्यस्ता समस्यालाई आम सहमतिमा नै निरुपण गर्ने दृढता व्यक्त गर्नुभयो ।
एक हजार पाँच सय प्राविधिक चाहिन्छ– ज्ञवाली
पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दोलखा र रसुवाबाट भूकम्पपीडितको यर्थाथ तथ्याङ्क सङ्कलन सुरु भएको र बाँकी अरु जिल्लाको पनि डेढ महिनाभित्रै सङ्कलन हुने र युद्धस्तरमा पुनःनिर्माणको काम सुरु हुने बताउनुभयो ।
पुनःनिर्माणका लागि एक हजार ५०० प्राविधिक जनशक्तिको आवश्यकता रहेको भन्दै उहाँले तीन चरणमा उनीहरुलाई प्रशिक्षण दिएर प्रभावित क्षेत्रमा खटाइने स्पष्ट पार्नुभयो । प्रभावित क्षेत्रका जनतालाई पैसा दिएर मात्र भूकम्प प्रतिरोधी घर तथा आवास निर्माण हुन नसक्ने भएकाले त्यसलाई प्रमुख ध्यान दिनुपर्ने उल्लेख गर्दै स्थानीय जनताको सहयोग बिना पुनःनिर्माणको काम अगाडि बढ्न नसक्ने भएकाले जनपरिचालन गर्नुपर्ने उहाँको भनाइ छ ।
समितिले न्यायो कपडा खरिदका लागि सरकारले दिने भनेको रु दश हजार वितरणमा कुनै समस्या नराख्न, पुनःनिर्माणको काम तत्काल सुरु गर्न र भूकम्प प्रभावित क्षेत्रको समग्र विकासको खाका सार्वजनिक गरी एकद्वार प्रणालीमार्फत काम गर्न सरकारलाई निर्देशन दिएको छ ।
सभापति रवीन्द्र अधिकारीले कतिपय जिल्लाबाट राहत वितरण प्रभावकारी नभएको भन्ने गुनासो आएकाले त्यसलाई सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको जानकारी दिनुभयो । रासस












प्रतिक्रिया