भीमदत्तनगर, २६ पुस । सरकारले दार्चुलाको तिङ्कर र बझाङको उत्तरतर्फको नाका खुलाउन गृहकार्य गरिरहेको छ ।
अर्थ राज्यमन्त्री दामोदर भण्डारीले आज बिहान भीमदत्तनगरमा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँगको छलफलमा सुदूरपश्चिमको पर्यटन, औद्योगिकलगायत सबै क्षेत्रको विकासमा सरकार गम्भीर छ भन्नुभयो । आगामी बजेटमा सुदूरपश्चिमलाई विशेष सम्बोधन हुने आश्वासन पनि उहाँले दिनुभयो ।
केही दिनभित्रै नाकाबन्दीको समस्या समाधान हुने बताउँदै उहाँले आन्दोलनरत मधेसी मोर्चाको माग परिणाम देखिने गरी केही दिनभित्रै पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा सङ्घका अध्यक्ष सुरेश रावलले चीनसँगको तिङ्कर नाका खुलाउन, महाकालीमा पक्की पुल निर्माण खुलाउन र दैजीको औद्योगिक छेला क्षेत्रको स्थापना तथा विकासका लागि पहल गरिदिन राज्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुभएको थियो । रासस















प्रतिक्रिया