– झलक पाली
डोटी, २५ पुस । डोटीका विभिन्न गाविसमा एक हप्तामा तीन सय एकानब्बे वटा बाख्राको विमा गरिएको छ ।
वल्र्डभिजन ईन्टरनेशनल र ग्रामीण विकास केन्द्र (आरडिसी) नेपाल डोटीको साझेदारीमा सञ्चालित जीविकोपार्जन परियोजना अन्तरगत सो संख्यामा बाख्राको विमा गरिएको हो ।
ति दुवै संस्थाले यसभन्दा पहिले डोटीको पश्चिमचौकी र पूर्वीचौकीका सात÷सात वटा गरि १४ गाविसमा वितरण गरेका २ सय ६८ घरपरिवारका ३ सय ९१ वटा बाख्राको विमा गरिएको ग्रामीण विकास केन्द्र नेपालका जीविकोपार्जन परियोजना सहायक तथा प्राविधिक खेमराज जोशीले जानकारी दिए ।
बाख्रा पालन व्यवसायमा लागेका कृषकहरुलाई ग्रामीण विकास केन्द्रले खरी जातका बाख्रा वितरण गरेको र नेपाल सरकारको पशु विमा नीतिअनुसार बाख्रा विमा गरिएको जोशीले बताए ।
राष्ट्रिय विमा कम्पनी धनगढी, कृषि तथा भेटेरीनरी प्राविधिकका शिराम जोशी, डम्वर ओझासहितको टोलीले यहि पुस १७ गतेबाट २३ गतेसम्म बाख्राको विमा गरेको बताईएको छ ।
बाख्रापालक कृषकका बाख्राहरुमा भविष्यमा हुन सक्ने जोखिम पश्चात कृषकहरुलाई सहयोग पुगोस् भन्ने उद्धेश्यले बाख्राको बिमा गरिएको आरडिसी डोटीले जनाएको छ । संस्थाका प्राविधिक जोशीका अनुसार पाँच हजार मूल्य पर्ने बाख्राको चार हजार पाँच सयसम्म बिमा रकम उपलब्ध गराईनेछ ।
बाख्रापालक कृषकहरुले बाख्राको विमा गरिएसँगै विमा कम्पनी जिल्ला तहसम्ममा रहेर काम गर्ने व्यवस्था भईदिएमा सहज हुने बताएका छन् । साथै बाख्रापालन गर्न बिउँ प्रयोजनका लागि समूहमा उन्नतजातको बोका उपलब्ध गराइएमा सहुलियत पुग्ने बताएका छन् ।
नेपाल सरकारले आर्थिक वर्ष २०७०/०७१ देखि नै बाली तथा पशु विमा नीति लिएको भएपनि डोटीमा पशु विमा गर्ने नगरेको र पछिल्ला दिनमा पशु विमा गराउने कृषकको संख्यामा वृद्धि भईरहेको जिल्ला पशु सेवा कार्यालय डोटीका पशु विकास अधिकृत गणेश बहादुर ऐरले बताए ।
ग्रामीण विकास केन्द्रले सन् २०१३ अप्रीलदेखि पश्चिमचौकी क्षेत्रका ७ वटा गाविस र सन् २०१५ देखि पूर्वीचौकी क्षेत्रका ७ गाविसमा जीविकोपार्जन परियोजना सञ्चालन गर्दै आएको छ ।















प्रतिक्रिया