काठमाडौं, २६ पुस । सरकारको निर्देशनअनुसार उद्योगीले दुई महिनादेखि सिलिन्डरमा आधा ग्यास भर्दै आएका छन् ।
भारतबाट आयात बढेको र आधा ग्यास मात्रै भर्दा सञ्चालन खर्च बढेको भन्दै उनीहरूले सरकारसमक्ष पूरै सिलिन्डर ग्यास भर्न अनुमति मागेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘अहिले आधा ग्यास भर्दा सिलिन्डरको अभाव भयो । ग्यास नपाएपछि सर्वसाधारणले पनि सिलिन्डर बाहिर ल्याएनन् । सञ्चालन खर्च पनि धेरै हुन थाल्यो । त्यसैले, पूरै सिलिन्डर भर्ने माग गरेका हौँ,’ ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले भने ।
ग्यास विक्रेता र उद्योगीको सञ्चालन खर्चदेखि मुनाफासम्म नेपाल आयल निगमले ग्यारेन्टी गरिदिएको छ । उद्योगीलाई निगमले प्रतिसिलिन्डर दुई सय ३२ रुपैयाँ ५० पैसा उपलब्ध गराउँदै आएको छ ।
त्यसमा विक्रेताले ग्यास बेचेबापत प्रतिसिलिन्डर २५ रुपैयाँ पाउँछन् । बाँकी सबै रकम उद्योगीले सञ्चालन खर्च, ढुवानी खर्च, मुनाफालगायतका शीर्षकमा पाउँदै आएका छन् ।
पुस महिना लागेसँगै तुलनात्मक रूपमा ग्यास आयात बढेको छ । रक्सौलबाहेक काँकडभिट्टा, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीबाट १० दिनयता एक सय ७७ बुलेट भित्रिएका छन् ।
त्यसमध्ये ६० प्रतिशत (एक सय ६ बुलेट) काठमाडौं आएका छन् । तर, यो ग्यास पारदर्शी रूपमा वितरण हुन सकेको छैन, जसका कारण सर्वसाधारणले सहजै पाउन सकेका छैनन् । सामान्य अवस्थामा देशभर दैनिक ६६ बुलेट र उपत्यकामा ३३ बुलेट ग्यास खपत हुने गरेको छ ।















प्रतिक्रिया