त्रिशूली (नुवाकोट), २५ पुस । विभिन्न आपराधिक घटनामा संलग्न भई फरार रहेका एक आरोपीलाई आज प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।
आज नुवाकोट प्रहरीले ककनी–९ का २६ वर्षीय सानु भन्ने युवराज गुरुङलाई रातमाटे–९ महादेवफाँटबाट पेस्तोलसहित पक्राउ गरेको हो ।
प्रहरीले ३८ बोर रिभल्बर एकथान, त्यसमा लाग्ने गोली एक थान र निजले प्रयोग गर्ने बुलेटपु्रफ ज्याकेटसहित गुरुङलाई पक्राउ गरेको जिप्रकाका प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । गुरुङलाई प्रहरीले आज नै सार्वजनिक गरेको हो ।
आरोपित गुरुङले २०७१ पुस २४ गते बट्टारमा डोलबहादुर घलेलाई आक्रमण गरी फरार भएको, २०६९ सालमा गोङ्गबुका विकास तामाङलाई खुकुरी प्रहार गरी फरार रहेको, २०७२ मङ्सिरमा न्युरो अस्पताल काठमाडाँैमा उपचार गर्दैै रहेको अवस्थामा धादिङका सेतेमान भन्ने दिनेश तामाङलाई खुकुरी हान्ने प्रयास गरेकोलगायतका घटनामा संलग्न भएको प्रहरी नायव उपरीक्षक सिद्धिविक्रम शाहले बताउनुभयो ।
गुरुङलाई नुवाकोटमा रहेको दुईवटा मुद्दाको फरार अभियुक्त भएकाले सोहीअनुसार कारबाही चलाइने र हातहतियार तथा खरखजना ऐनअन्तर्गत थप मुद्दा दायर गरिने प्रहरीले जनाएको छ । गुरुङ काठमाडौँको सामाखुसी क्षेत्रमा गुण्डागर्दी गर्दै आएको प्रहरीको भनाइ छ । रासस












प्रतिक्रिया