
काठमाडौँ, २५ पुस । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले सहिदको सोच साकार बनाउन पार्टी एकढिक्का भएर लाग्ने बताउनुभएको छ ।
नेपाल प्रजातन्त्र सेनानी सङ्घ र सहिद लीला–यशोदा दाहाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘प्रजातन्त्र सेनानी’ नामक पुस्तक लोकार्पण एवम् ‘ओखलढुङ्गा प्रजातान्त्रिक क्रान्तिको इतिहास’ वृत्तचित्र सुभारम्भ समारोहलाई सम्बोधन गर्दै सभापति कोइरालाले सो कुरा बताउनुभएको हो ।
“सहिदको बलिदानीको इतिहासलाई काँग्रेसले बिर्सेको छैन, पार्टीलाई जोगाउन सहिदको योगदानको स्मरण गरेर काम गरिरहेका छौँ, १३औँ महाधिवेशनमा पदका लागि प्रजातान्त्रिक अभ्यास भए पनि समग्र विचारको नेतृत्व पार्टी एक भएर गर्छ”– उहाँले भन्नुभयो ।
सहिद परिवारलाई योगदान गरेजतिको सम्मान दिन नसकिएको स्वीकार गर्दै सभापति कोइरालाले अब इतिहासको अभिलेख हेरेर कदर गरिने प्रतिबद्धता जनाउनुभयो । पार्टीको जिम्मा तीन नेतालाई मात्र दिन नहुने भन्दै उहाँले प्रजातान्त्रिक पद्धतिअनुसार संस्थागत तवरमा सञ्चालन गरिने बताउनुभयो ।
“बिपी हुँदा उहाँपछि पार्टी चल्न सक्दैन भन्ने थिए, अहिले तीन नेतापछि के हुन्छ भन्ने छन्, तर पार्टी उत्तराधिकारवाला संस्था भएकाले युवा पुस्ताबाट अझ प्रभावकारी ढङ्गले सञ्चालन हुनेछ”- उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य एवम् सांसद डा शशाङ्क कोइरालाले समसामयिक राजनीतिक समस्या समाधानका लागि संसद्को ठूलो दल भएको नाताले एक भएर जुट्नुपर्नेमा जोड दिनुभएको थियो । रासस












प्रतिक्रिया