काठमाडौँ, २५ पुस । नेपाली काँग्रेसमा दोस्रो पुस्ताका नेताले युवा वर्गलाई नेतृत्व हस्तान्तरण गर्न सुझाएका छन् ।
नेपाल तरुण दलले आज यहाँ आयोजना गरेको ‘नीति, नेतृत्व र नयाँ संविधान कार्यान्वयनमा तरुणको भूमिका’ विषयको अन्तक्र्रियामा नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले काँग्रेसले विजयलाई संस्थागत गरी जोगाउन नसकेकाले युवा पुस्तालाई भावी नेतृत्व सुम्पन आग्रह गर्नुभयो ।
आसन्न १३औँ महाधिवेशनलाई लक्ष्य गरी आयोजना गरिएको कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले पारिवारिक विरासतबाट पार्टीलाई माथि उठाउनु आजको आवश्यकता रहेको बताउनुभयो ।
काँग्रेसका संस्थापक नेता बिपी कोइरालाले मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको दिनलाई सम्झना गर्ने उद्देश्यबाट आयोजना गरिएको सो अन्तक्र्रियामा अधिकांश वक्ताले वर्तमान सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई नेतृत्वबाट विश्राम लिन आग्रह गरेका थिए ।
तरुण दलका अध्यक्ष उदयशम्सेर राणा, नेता विनोद कायस्थ, दामोदर लम्साल, मेधिनीप्रसाद सिटौलालगायतले संविधानको संस्थागत गर्ने जिम्वेवारी युवा पुस्ताले लिनुपर्ने बताउनुभयो । रासस












प्रतिक्रिया