६ कार्तिक २०८३, शुक्रबार

भवानी राणासँग उनका पति किन पीडित छन् ? खटपट भएकै हो ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhawani Rana Sexy Nepali Ladyगैरसरकारी संस्था ‘साथी’ मा नेपालगन्जबाट काम गर्दागर्दै नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा प्रवेश गरेकी भवानी राणा अहिले वरिष्ठ उपाध्यक्ष छिन् । शालीन स्वभावकी उनको ‘फिटनेस’ र सुन्दरताको पनि उत्तिकै चर्चा हुने गर्छ । राणाको बानी र स्वभावबारे उनका पति असितशमशेरसाग नयाँ पत्रिकाका खगेन्द्र पन्तले १०१ प्रश्न सोधेका छन् : –

एभरेजभन्दा राम्री छिन्

१. सुन्दरी व्यवसायीका रूपमा चिनिनुहुन्छ, तपार्इं आफूलाई चाहिँ आफ्नी पत्नी कति सुन्दर छिन् भन्ने लाग्छ ?

सुन्दरी छ नि । ‘एभरेज’भन्दा राम्री छिन् । तर, मैले उनलाई कहिले पनि ‘तिमी धेरै राम्री छ्यौ’ भनेको छैन । पुरुषको इगो हो कि के मलाई थाहा छैन, तर मैले कहिले त्यस्तो भनेको छैन । मनमा त लाग्छ, ‘मेरी श्रीमती राम्री छिन्’ भन्ने । विदेशीहरूले भनिरहेका हुन्छन् नि– ‘आई लभ यु हनी, यु आर सो ब्युटिफुल ।’ यस्तो म कहिल्यै भन्दिनँ । बरु, ‘क्रिटिसाइज’ गरिदिन्छु ।

२. कस्तो ‘क्रिटिसाइज’ नि ? त्यस्तै त हो नि । ‘तिम्रो त गाला अलि मोटो देखियो, तिमी त मोटाएछौ’ भनेर जिस्क्याइदिन्छु ।

३.आफू ‘मेन्टेन’ रहन के–के गर्नुहुन्छ ? कुरै छाडिदिनु, एकदमै सचेत छिन् । स्किनको एकदमै चिन्ता गर्छिन् । सानो केही हुनेबित्तिकै हाम्रो फेमिली डाक्टर छ, त्यहाँ पुग्छिन् । घामबाट जोगिन्छिन् । योगा र एक्सरसाइज त्यत्तिकै गर्छिन् । राति टिभी हेर्दाहेर्दै फेसियल गरिरहेकी हुन्छिन् । पानी बोकेरै हिँड्छिन् ।

४. दिनमा कति लिटर पानी पिउनुहुन्छ ? १०–१५ लिटर खान्छिन् होला दिनमा । पानी त चौबिसै घन्टा सँगै बोकेर हिँड्छिन् । ‘वाटर ट्रिटमेन्ट’जस्तै हो । धेरैभन्दा धेरै खान्छिन् ।

५. उहाँले आफ्नो शरीर त्यति मेन्टेन गर्नुभएको छ, तपाईंलाई पनि घचघच्याउनुहुन्न ? म पनि पहिला मज्जाले एक्सरसाइज गर्थेँ नि । पछिल्लो समय नेपालगन्जको घरमा मैले पनि एक्सरसाइज रुम बनाएँ । ट्रेड मिलदेखि सबै इक्युपमेन्ट राखेँ । तर, म त्यहाँ गएपछि उनी पनि आउनैपर्ने । मभन्दा पहिला उनले गर्नुपर्ने । त्यहाँ पनि मैले कुर्नुपर्ने । अनि, मलाई हैट, पालो कुर्नभन्दा गर्दै गर्दिनँ भनेँ र छाडिदिएँ (हाँसो) । ऊर्जा नै हरायो मेरो । यता (काठमाडौं) आए पनि एक्सरसाइज रुममा उनैको कब्जा, उता (नेपालगन्ज)मा पनि उनैको कब्जा भन्ने भयो ।

त्यतिवेलाको रोमान्स अमूल्य

६. तपार्इंहरूको बिहे कहिले भएको ?

सन् १९९६ मा बिहे गरेका हौँ ।

७. प्रेम विवाह कि मागी विवाह ? प्रेम विवाह नै हो । तर, घरबाटै गरेका हौँ ।

८. पहिलोपल्ट कहाँ भेट भएको दुईजनाको ?

मेरो साथीकी बहिनी र उनी लखनउमा सँगै पढ्थे । त्यता जाँदा उनी नेपालगन्जमा साथीकहाँ बसेर जान्थिन् । एउटा पार्टीमा भेट भएको हो । त्यहाँ फोटो खिचेका थियौँ । पछि राम्री लागिन् ।

९. त्यसपछि संवाद सुरु भयो हैन ?

हो । त्यसपछि कुराकानी हुन थाल्यो । वेला–वेलामा फोनमा पनि कुरा हुन्थ्यो ।

१०. प्रेम प्रस्ताव कसले पहिला राख्नुभयो ?

त्यस्तो प्रेम प्रस्ताव राखिएन । दुवैले व्यक्त नगरीकनै एक–अर्काका कुरा बुझ्यौँ । तर, त्यसपछि लामो समय हामीबीच संवाद नै भएन ।

११. किन नि ?

उनले ‘मैले भर्खर इन्टरमिडिएट गरेँ, पढाइ गर्नु छ’ भनिन् । मलाई पनि ‘भर्खर पढाइ सकेको छु, काम गर्नुपर्‍यो’ भन्ने लागेको थियो । त्यसपछि उनी आफ्नो पढाइमा लागिन् । म होटेल राम्रो गर्नतिर लागेँ । मलाई लाग्छ, चार–पाँच वर्ष हामीबीच कुराकानी नै भएन ।

१२. त्यसपछि फेरि कहिले भेट भयो त ?

पढाइ सकेपछि उनी अमेरिकन दूतावासमा काम गर्थिन् । एकपल्ट अफिसकै कामले नेपालगन्ज आउनुपर्ने भएछ । मलाई फोन गरेर, ‘म त्यता आउँदै छु, तपाईंको सहयोग चाहिन्छ’ भनिन् । मैले ‘वेल कम, मेरो पूरै सहयोग हुन्छ’ भनेँ । संयोगले उनी आउने दिन म नेपालगन्जमा नहुने थिएँ । मैले स्टाफलाई भनेर उनलाई ‘रिसिभ’ गरेर राख्न भनेको थिएँ । उनको कोठा चिटिक्कको बनाएर फलफूल, फूल र एउटा कार्ड राख्न भनेको थिएँ । कार्डमा लेखेको थिएँ– ‘मिस यू अल दिज इयर्स’ । ती सबै देखेपछि उनी खुसी भइन् ।

१३. लामो समयको भेटमा के भन्नुभयो नि ?

केही भनेनौँ । उनलाई लागेको होला, ‘यतिका वर्षपछि पनि यसरी सम्झिराखेको रहेछ, मलाई मिस गरेको रहेछ ।’ त्यसपछि त रेगुलर सम्पर्कमै रह्यौँ ।

१४. डेटिङ कत्तिको गर्नुहुन्थ्यो ?

गरिन्थ्यो नि । रेस्टुरेन्ट जान्थ्यौँ, भेटघाट, गफगाफ गरिन्थ्यो ।

१५. डेटिङका लागि कस्ता ठाउँहरू छान्नुहुन्थ्यो ?

त्यतिवेला अमेरिकन दूतावास पानीपोखरीमा थियो । त्यसको निजिकै चाइनिज रेस्टुरेन्ट थियो । हामी प्राय: त्यहीँ जान्थ्यौँ । कहिलेकाहीँ पार्टीमा जान्थ्यौँ । उनको ममी अलि कडा हुनुहुन्थ्यो । ‘यति बजे घर पुग्नुपर्छ’ भनेपछि पुग्नुपर्ने । रातभरि पनि फोनमा कुरा गरिन्थ्यो । त्यतिवेलाको रोमान्स अमूल्य रहेछ । त्यतिवेलाको फिलिङ, घुमघाम दोहोरिएर आउँदैन । अमूल्य हो त्यो ।

१६. तपाईंहरूको घरमा कतिपछि थाहा भयो ?

हाम्रो परिवारबीच पहिलादेखि नै चिनजान थियो । उनको बुबा अञ्चलाधीश भएर नेपालगन्ज बस्दा हाम्रै घरमा आएर तास खेल्नुहुन्थ्यो । बिहेका बारे दुवैका घरबाट त्यस्तो रोकटोक भएन, उनी २३ वर्षकी हुँदा घरबाटै बिहे भयो ।

१७. बिहेपछि नेपालगन्ज नै ल्याउनुभयो ?

हो नि । तर, त्यसपछि एउटा समस्या भयो, ‘सिटी गर्ल’लाई नेपालगन्ज ल्याएपछि के गर्न दिने ? अमेरिकी दूतावासको जागिर पनि मैले छुटाएको थिएँ । त्यसपछि मैले मेरो बहिनी पर्छिन् आरजु देउवा, उनलाई भनेर ‘साथी’ संस्थाको नेपालगन्जमा शाखा खोल्न लगाएँ र त्यसमा भवानीले काम गर्न थालिन् । उनले निकै मिहिनेत गरिन् । उनको सोसल करिअर त्यहीँबाट राम्रो भएको हो । नेतृत्व क्षमता विकास त्यहीँबाट गरिन् ।

बिहान डेढ/दुई घन्टा योगा गर्छिन्

१८. बिहान कति बजे उठ्नुहुन्छ ?

बैठक–कार्यक्रम छन् भने त चाँडै उठ्छिन् । नत्र सामान्यतया सात–साढे सात बजे उठ्छिन् ।

१९. चिया/कफी के रुचाउनुहुन्छ ?

अघिल्लै दिन पानीको गिलासमा अमलाका बियाँका दानाहरू राखेकी हुन्छिन् । उठ्नेबित्तिकै त्यो पानी पिउँछिन् । त्यसले पेटको समस्या समाधान गर्छ । त्यसपछि ‘बेड टी’ लिन्छिन् । दूध चिया नै मन पराउँछिन् ।

२०. एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?

धेरै गर्छिन् नि । एक्सरसाइज गर्ने छुट्टै कोठा छ । बिहान डेढ–दुई घन्टा योगा गर्छिन् । प्रणायाम, अनुलोमविलोम गर्छिन् । त्यसपछि आधा घन्टाजति पूजापाठमा व्यस्त बन्छिन् । त्यतिवेलासम्म कसैको फोन उठाउँदैन ।

२१. साँझमा पनि गर्नुहुन्छ योगा ?

साँझमा अरू एक्सरसाइज गर्छ । ‘ट्रेड मिल’मा कुद्नेदेखि अरू एक्सरसाइज साँझमा गर्छिन् ।

२२. राति कतिखेर सुत्नुहुन्छ ?

राति हाम्रो सुत्ने अबेर हुन्छ । त्यही भएर त ढिलो उठिन्छ । कम्तीमा १२ बज्छ सुत्दा । २३. सुत्नुअघि केही खाने बानी छ ? त्यस्तो बानी नै त होइन, तर कहिलेकाहीँ चिया खान्छिन् ।

नपकाए पनि मेनु उनैको हुन्छ

२४. बिहानको खाजामा के लिन मन पराउनुुहुन्छ ?

दुइटा उसिनेका अन्डा, टोस्ट, दूध खान्छिन् । अन्डा उनलाई एकदमै मन पर्छ ।

२५. खानामा के मन पराउनुहुन्छ ?

सामान्य, दालभात, तरकारी नै हो । थोरै मासु पनि हुन्छ ।

२६. दिउँसो खाजा के खानुहुन्छ ?

दिउँसोमा खासै खाजा खाँदिनन् । चिया खाँदा कुकिजहरू खान्छिन्, कहिलेकाहीँ ।

२७. रातिको खानामा के रुचाउनुहुन्छ ?

राति दालभात वा रोटी जे भए पनि हुन्छ, तर थोरै ।

२८. खानामा कमेन्ट गर्ने बानी कत्तिको छ ?

हामी दुवैजनाको त्यो बानी भने छैन । जे पाक्छ सन्तुष्ट भएर खान्छौँ ।

२९. खाना आफैँ पकाउनुहुन्छ कि अरूले ?

आफैँ पकाउन त भ्याउँदै भ्याउँदिनन्, अरूले नै पकाउँछन् । आफूले नपकाए पनि मेनु उसैको ‘च्वाइस’को हुन्छ ।

३०. उहाँले पकाएको तपाईंले चाख्न नपाएको कति भयो ?

भयो होला, ५–६ वर्ष भयो होला ।

३१. उहाँलाई के–के पकाउन आउँछ ?

प्राय: सबै परिकार पकाउँछिन् । पहिला–पहिला हामी ‘आज यो खाने’ भनेर छलफल गथ्र्यौँ, त्यहीअनुसार उनले पकाउँथिन् । तर, रहरले हो पकाउने, ‘पोइलाई आफैँले पकाएर खुवाउनुपर्छ’ भन्ने हिसाबले होइन ।

३२. उहाँले पकाएको तपाईंलाई एकदमै मीठो लाग्ने के हो ?

त्यस्तो एकदमै मीठो भन्ने त केही छैन, फेरि पनि भनिदिऊँ न एउटा (हाँसो) । एनी वे, उसले बटर चिकेन, चिकेन करी एकदमै मीठो पकाउँछिन् ।

३३. तपाईं आफूचाहिँ कत्तिको पकाउनुहुन्छ ?

मैले पढेकै होटेल म्यानेजमेन्ट । सबै परिकार पकाउन आउँछ नि ।

३४. तपाईंले पकाएको उहाँलाई एकदमै मन पर्ने परिकार के हो ? मैले पकाएका सबै परिवार उनीसहित छोराहरूले पनि खुसी मानी–मानी खान्छन् । सबै मीठो मान्छन् ।

लुगा उनको कमजोरी हो

३५. आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ?

एकदमै सचेत छिन् नि । उनको सबैभन्दा ठूलो कमजोरी नै लुगा हो, फेसन हो । पढेकै फेसन डिजाइनिङ ।

३६. आफ्नो लुगा आफैँ डिजाइन गर्नुहुन्छ ?

आफैं डिजाइन गरेर बुटिकमा दिन्छिन् । एक–दुई दिन वा हप्ता दिन लगाएपछि त्यो लुगा लगाउँदिनन् । पुराना लुगा स्टाफहरूलाई बाँड्छिन् । नयाँ–नयाँ फेसन मन पर्छ, ‘अल्वेज युनिक’ ।

३७. लुगामा मासिक कति जति खर्च गर्नुहुन्छ ?

अब त्यो त म भन्न सक्दिनँ यार । आफैं कमाउँछिन्, आफैं खर्च गर्छिन् । फेरि मेरो स्वभाव पनि छैन कि ‘लुगामा कति खर्च गरेको ? मेरा लागि केही पनि छैन, आफू मात्रै नयाँ–नयाँ’ भन्ने । त्यसरी भन्नु राम्रो पनि होइन । उनको सोख हो, पूरा गर्छिन् ।

३८. उहाँँलाई कस्तो लुगामा तपाईं राम्रो देख्नुहुन्छ ?

उनले जुन लुगा लगाए पनि मलाई मन पर्छ । साडी लगाए त्यही सुहाउँछ, सलवार–कमिज लगाए त्यही राम्रो देखिन्छ, पाइन्ट–टिसर्ट लगाए पनि उस्तै राम्री देखिन्छिन् । किनभने, उनको फिगर नै राम्रो छ । बोरा ओढ्न दिए पनि त्यसैलाई राम्रो ‘क्यारी’ गरिदिन्छ । मुख्य कुरा, फिगर राम्रो हुनुपर्‍यो । फिगरका लागि उसले दिनरात मिहिनेत गर्छिन्, हामीजस्तो अल्छी छैनन् नि ।

३९. लुगामा आइरन गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ?

आउँछ । आवश्यक परे बाहिर जाँदा प्राय: गर्छिन् ।

४०. तपाईंलाई आउँछ कि आउँदैन आइरन गर्न ? किन नआउनु ? होटेलियर भएपछि आउँदैन ? के गर्न आउँदैन मलाई । ‘आइ एम ज्याक अफ अल ।’

पहिला त सिनेमा धेरै हेर्थ्यौँ

४१. सिनेमा हेर्न कत्तिको रुचि देखाउनुहुन्छ ?

सिनेमामा त एकदमै रुचि छ । पहिला–पहिला त खुब हेरिन्थ्यो पनि । एफएनसिसिआईमा गएपछि अचेल उनले समय पाउँदिनन् । तैपनि, ‘यो फिल्म एक्लै नहेर्नु है, म पनि हेर्छु’ भनिरहेकी हुन्छिन् ।

४२. कस्ता सिनेमा रुचाउनुहुन्छ ?

उनले धेरै मन पराउने हिन्दी सिनेमा हो ।

४३. टेलिभिजनमा सिनेमा कत्तिको हेर्नुहुन्छ ?

हेर्छिन् कहिलेकाहीँ ।

४४. पछिल्लो समय कुन फिल्म हेर्नुभयो ?

घरमा ठूलो स्क्रिन छ सिनेमा हेर्न । अस्ति भर्खर परिवार बसेर ‘बाजिराव मस्तानी’ हेर्‍यौँ ।

४५. गीत–संगीतमा कत्तिको रुचि छ ?

रुचि छ, सुन्छिन् पनि ।

४६. कस्ता गीत मन पराउनुहुन्छ ?

अहिलेका भन्दा पुराना गीतहरू मन पर्छ । गाडीमा हिँड्दा सुन्छौँ ।

४७. सागै हलमै गएर सिनेमा कत्तिको हेर्नुहुन्छ ?

धेरै हेरिन्थ्यो नि । अचेल पनि हेरिन्छ, तर उनलाई समय निकै कम हुन्छ । प्राय: छोरा र म जाने गर्छौँ ।

४८. पछिल्लोपल्ट दुईजना हलमै पुगेर हेरेको सिनेमा कुन हो ?

दिलवाले हेरियो । राम्रो बनाएको रहेछ ।

व्यस्तता देखेर कहिलेकाहीा दिक्क लाग्छ

४९. परिवारमा कति सदस्य हुनुहुन्छ ?

हामी दुईजना बूढाबूढी, दुई छोरा छन् ।

५०. परिवारलाई कति समय दिनुहुन्छ ?

एफएनसिसिआईमा लागेपछि अलि बढी व्यस्त भएकी छिन् । परिवारलाई समय नै हुँदैन । कहिलेकाहीँ मलाई नै किन त्यता काम गर्न पठाएँ भन्नेजस्तो लाग्छ । कहिले मिटिङ भनेको छ, कहिले जिल्ला दौडेको छ । त्यो पनि ‘भोलेन्टिरयर’ भनेको छ । ‘ह्वाट इज दिस यार’जस्तो लाग्छ कहिलेकाहीँ ।

५१. सँगै बसेका वेला कस्ता कुराकानी गर्नुहुन्छ ?

सबैखालका कुराकानी हुन्छन् । परिवारदेखि राजनीतिसम्मका कुरा हुन्छन् ।

५२. आफूले थाहा पाएका कुराहरू तपार्इंसँग कत्तिको खुलेर सेयर गर्नुहुन्छ ?

सेयर गर्छिन् । ‘यस्तो हुँदै छ, के गर्ने होला’ भनेर सोध्छिन् । म पनि मेरो सुझाब दिन्छु । अरू साथीभाइहरूले पनि सल्लाह दिन्छन् ।

केटा मान्छे जहिले नि पीडित हुन्छ

५३. दुवै आ–आफ्नो काममा व्यस्त हुनुहुन्छ, आफ्नो आम्दानी एकै ठाउँ राख्नुहुन्छ कि छुट्टाछुट्टै ?

दुवै ‘इन्डिपेन्डेन्ट’ छौँ । उनले यताको घर हेर्छिन्, खर्च धान्छिन्, म उताको (नेपालगन्ज) । आवश्यक पर्‍यो भने कहिलेकाहीँ उनले माग्छिन्, कहिले मैले माग्छु । तर, मैले मागेको पैसा फिर्ता दिन्नन्, अचेल उनले पनि मेरोजस्तै सिकेकी छिन्, मसँग मागेको पैसा बिर्सिदिन्छिन् (हाँसो) ।

५४. एक–अर्कासँग सापट माग्दा कसले धेरै माग्छ ?

आवश्यकता हेरेर हुन्छ । हामी विदेश जाँदा पनि ‘यो तिम्रो, यो मेरो’ भनेर बराबरी पैसा छुट्याएर जान्छौँ । तर, बराबरी त भन्ने मात्रै हो । कहिले यो किन्नुपर्‍यो, कहिले त्यो किन्नुपर्‍यो, ल्याउनु भनिहाल्छिन् । कहिले यता ताना, कहिले उता ताना । केटा मान्छे जहिले नि पीडित नै हो यार (हाँसो) ।

५५. कसले धेरै कमाउँछ ?

बढी आम्दानी त मेरो नै हुन्छ । होटेलमा दुवै सेयरहोल्डर छौँ । एफएनसिसिआई त उनको ‘भोलेन्टियर सर्भिस’ न हो । केही नयाँ प्रोजेक्ट गर्न खोज्दै छिन् । रोप–वेको प्रोजेक्ट गर्न खोज्दै छिन् ।

५६. पैसाका बारेमा बूढाबूढीबीच कहिलेकाहीँ किचलो हुन्छ कि हुँदैन ?

हुन्छ नि, किन नहुनु ? पैसा आउँछ पनि, जान्छ पनि । तर, त्यसको व्यवस्थापन राम्रोसँग गर्न जान्नुपर्छ । भुइँचालो, नाकाबन्दीका कारण व्यवसाय ‘स्मुथली’ नहुँदा स–साना कुरामा पनि रिस उठ्दो रहेछ के ? त्यस्तो वेला ‘राजा यस्तो ल्याउनु न’ भनेपछि झनक्क रिस उठ्छ । ‘आफूलाई यहाँ कस्तो टेन्सन छ, कहाँबाट ल्याउनु’ भन्ने हुन्छ । ‘फाइनान्सियल क्राइसिस’ जुन परिवारमा हुन्छ, त्यहाँ गुनासा हुने, रिस उठ्ने हुन्छ ।

५७. पैसाकै बारेमा ठाकठुक परेका कुनै घटना छन् ?

एकपल्ट हामी फ्रान्स गएका थियौँ । उनको ब्यागमा मेरा पासपोर्ट, पैसा, डायमन्डको औँठीसहितका गहना, आइफोन सबै राखेका थियौँ । एउटा डिपार्टमेन्ट स्टोरमा पसेर ब्याग छेउमा राखेर ज्याकेट हेर्न थालिछिन् । फर्केर हेर्दा त ब्याग नै छैन । त्यतिखेर मैले उनलाई धेरै कराएँ । पछि आफैँलाई नराम्रो लाग्यो ।

महासंघमा उनको प्रतिस्पर्धी नै देख्दिना

५८. एनजिओमा सक्रिय हुनुहुन्थ्यो, उद्योग वाणिज्य महासंघको राजनीतिमा कसरी सक्रिय हुनुभयो ?

हो, पहिला साथी संस्थामा सक्रिय थिइन् । महिला उद्यमी संघमा थिइन् । त्यसबाट प्रतिनिधित्व गर्दै उद्योग वाणिज्य महासंघको सदस्य भएकी हुन् । त्यतिवेला उनी निकै आत्तिएकी थिइन्, सबै पुरुष छन् कसरी काम गर्ने होला भनेर । तर, एक वर्षभित्रै सबै बुझिन् ।

५९. उहाँ यहाँसम्म पुग्नुमा तपाईंको भूमिका कत्तिको छ ?

श्रीमान् वा श्रीमती जसको प्रगतिमा पनि स्वाभाविक रूपमा एक–अर्काको भूमिका हुन्छ नै । म सकारात्मक नभएको भए कसरी अगाडि बढ्थिन् ? मैले सधैँ इन्करेज गरेँ ।

६०. अनि, तपाईंको सफलतामा उहाँको योगदान कति छ ?

उनको पनि योगदान छ । उनी राम्री आमा र सहयोगी श्रीमती हुन् । सबै खालमा समस्या हामी मिलेर सल्टाउँछौँ ।

६१. उपाध्यक्ष हुनहुन्छ, अब स्वाभाविक रूपमा अध्यक्ष बन्ने योजना होला, कस्तो गर्दै हुनुहुन्छ तयारी ?

जिल्लामा उनको एकदमै राम्रो छ । राम्रो ‘रेस्पोन्स’ पनि पाएकी छिन् । उनमा राम्रो लिडरसिप क्वालिटी छ । उपत्यकामा पनि धेरै साथीहरूले सहयोग गर्छु भनेका छन् । म उनको प्रतिस्पर्धी नै देख्दिनँ । तर पनि मिहिनेत त गर्नैपर्छ ।

रिसाएपछि बोल्दै बोल्दिनन्

६२. रिसाउने बानी कति छ ?

रिसाउने बानी नै त हैन । अचेल कहिलेकाहीँ झर्किन्छिन् । उनको बोली नै मीठो छ । मान्छेहरू रिझाएर राख्न सक्छिन् । अरूको घरमा काम गर्ने स्टाफ हप्ता दिनमा पनि हिँडिदिन्छन् । हामीकहाँ आउने स्टाफ जानै मान्दैनन् । त्यति खुसी बनाएर राख्छिन् । ६३. कस्ता कुरामा झर्किनुहुन्छ ? अफिसको कामले कहिलेकाहीँ ‘टेन्स’ हुन्छिन् ।

६४. रिसाएपछि के गर्नुहुन्छ ?

रिसाएपछि नबोल्ने क्या । चुप लागेर बसिदिन्छिन् ।

६५. त्यसरी रिसाउँदा कति दिन बोलचाल बन्द हुन्छ ?

सामान्यता एक–दुई हुन्थ्यो । तर, एकपल्ट त एक हप्तासम्म नै बोलचाल भएन । को पहिला बोल्दो रहेछ भन्ने प्रतिस्पर्धा गरेजस्तो भयो । मलाई उकुसमुकुस भइसकेको थियो, धेरै दिन नबोली बस्नै नसक्ने म ।

६६. अनि, को पहिला बोल्यो त ?

म नै बोलेँ नि । उकुसमुकुस भएपछि हार मानेँ यार, मैले त (हाँसो)। हामीबीच केही प्रोब्लम नभएजस्तो गरेर ‘एउटा कामको छलफल गर्नु छ, आऊ’ भनेर बोलाएँ । अनि, त बाटो खुलिहाल्यो ।

६७. उहाँ बढी रिसाउनुहुन्छ कि तपार्इं ?

रिसाउने त मै बढी हो यार । तर, जायज कुरामा मात्रै रिसाउँछु नि फेरि । एकदमै व्यावहारिक छु म, खुट्टा सधैँ भुइँमा हुनुपर्छ भन्ने मान्यता राख्छु ।

६८. रिसाएपछि कसले पहिला फकाउँछ ?

मैले नै फकाउनुपर्छ नि । रिसाएपछि उनी टसको न मस हुँदिनन् । ‘आई एम अल्वेज राइट’ भन्छिन् । के गर्ने ? उनको गल्ती भए पनि मैले नै फकाउनुपर्छ । उनी त ‘मिस राइट’ हो । दुवैजना नबोलेर बस्यौँ भने त झगडा ‘नेभर इन्डिङ’ नि ।

६९. के भनेर फकाउनुहुन्छ ?

रिसाएपछि नबोलेर बसिएको हुन्छ । त्यस्तोमा नरिसाएजस्तो गरेर कुराको सुरुवात गरिदिन्छु । अनि त बोलचाल सुरु भइहाल्छ नि ।

७०. रिसले वा मायाले तपार्इंले कहिल्यै पिट्नुभएको छ ?

अहँ । हात हाल्ने काम त गरेको छैन । दुवैले त्यस्तो काम त गरेका छैनौँ । बरु, रिस उठ्यो भने कराउने गर्छौँ । नबोलिदिने गर्छौँ । पिट्ने काम कहाँ गर्नु ? त्यसमाथि उनी घरेलु हिंसाविरुद्ध काम गरिहेकी छिन् । त्यस्तोमा पिट्यो भने के होला ? (हाँसो)

७१. माया गरेर तपाईंलाई के भनेर बोलाउनुहुन्छ ?

‘लभ’ भन्छिन् ।

७२. तपाईंले के भनेर सम्बोधन गर्नुहुन्छ ?

मैले पनि ‘लभ’ नै भन्छु ।

७३. तपार्इंलाई उपहार कत्तिको दिनुहुन्छ ?

उपहार दिने त उनको बानी नै थियो । हरेक ‘अकेजन’मा गिफ्ट दिन्थिन् । मलाई नै कति दिएको होलाजस्तो लाग्थ्यो । तर, अचेल घटेको छ । अब छोराहरू प्राथमिकतामा परे । पोइ त ‘सेकेन्ड्री’ भइसक्यो नि यार । ‘बर्थडे गिफ्ट’ त अहिले नि दिन्छिन्, तर पहिलाजस्तो सबै ‘अकेजन’मा गिफ्ट दिने घटेको छ (हाँसो) ।

७४. उपहारमा कस्ता चिजहरू दिनुहुन्छ ?

घडी दिन्थिन् । म ग्योजेटस्को सौखिन, ती ल्याएर दिन्छिन् ।

७५. उहाँको जन्मदिन, म्यारिज एनिभर्सरी तपार्इं कत्तिको याद गरेर ‘विस’ गर्नुहुन्छ ?

त्यो त सम्झिनै पर्‍यो नि । उनले हरेकपल्ट याद गरेर ‘विस’ गर्छिन्, मैले बिर्सेँ भने त बर्बादै हुन्छ नि । एकपल्ट उहिले काममा व्यस्त भएर एनिभर्सरी बिर्सिएको थिएँ । उनले ‘आज त स्पेसल डे’ है भनेर सम्झाउन पनि खोजेको थियो, तर के पो होला र भन्ने लाग्यो । साँझ त पूरै ठुस्स भएकी छिन् । पछि ‘म तिमीलाई यस्तो चिज किनिदिन्छु’ भनेर आश्वासन दिएर फकाउनुपर्‍यो नि ।

७६. उहाँलाई एकदमै मन परेको तपाईंले दिएको उपहार के हो ?

मेरा छोराहरू (हाँसो) ।

७७. त्यो तपाईंले मात्रै दिएको कसरी भन्न मिल्यो र ?

छोराहरूभन्दा ठूलो उपहार केही हुन्छ यार ? (फेरि हाँसो)

७८. अनि, उहाँले दिएको तपाईंलाई सबैभन्दा मन परेको उपहार के हो ?

उनले दिएको पनि छोराहरू हो (फेरि हाँसो) ।

अचेल वेला–वेला झर्किन्छिन्

७९. जिद्दी गर्ने स्वभाव कत्तिको छ ?

जिद्दी त सुरुमा मैले धेरै गर्थेँ, तर अचेल उनमा सरिसकेको छ । उनले धेरै जिद्दी गर्छिन् । उनको ‘माइन्ड सेट’ भयो भने भयो, त्यो रोकिँदैन ।

८०. तपाईंले सम्झाउँदा पनि मान्नुहुन्न ?

मान्न त मान्छिन्, तर तर्कसहित सम्झाउनुपर्छ ।

पहिला रहरले चुरोट खान्थिन्

८१. चुरोट खानुहुन्छ कि खानुुहुन्न ?

चुरोट त खाँदिनन् ।

८२. कहिले पनि खानुभएन ?

उहिले हाम्रो बिहे भर्खर भएका वेला पार्टीहरूमा देखाउनका लागि होला नि चुरोट तान्न खोज्थिन् । तर, ख्वाङ, ख्वाङ… गर्न थाल्थिन् । अनि, आफैँ ‘म त मर्छु कि क्या हो’ भन्ने क्या । मैले ‘त्यस्तो हुने गरी किन खानुपर्‍यो’ भन्थेँ । त्यसपछि त खानै छाडिन् ।

८३. रक्सी खानुहुन्छ कि खानुहुन्न ?

रक्सी पनि त्यस्तै हो । वाइन तीन–चार ग्लास खान्थिन् । तर, उनको ‘बडी’ले ‘रिज्याक्ट’ गरिदिने ।

८४. अचेल खानुहुन्छ कि खानुहुन्न ?

पार्टीहरूमा एक–दुई गिलास वाइन खान्छिन् ।

८५. तपाईं कत्तिको पिउनुहुन्छ ?

ह्विस्की खान्छु । तर, अचेल थोरै । युवा उमेरमा त कति गयो थाहा नै हुन्थेन । म बच्चालाई पनि भन्छु– ‘ड्रिंक्स’ गर, तर ढल्ने गरी, करिअर बिगार्ने गरी होइन । चुरोट भने खाँदै नखाऊ, त्यो त किलर हो ।’

८६. बूढाबूढी सँगै बसेर कत्तिको लिनुहुन्छ ?

कहिलेकाहीँ खान्छौँ ।

८७. रक्सीले मातेर दुईजनाबीच कहिलेकाहीँ ठाकठुक पर्छ कि पर्दैन ?

हुँदैन । खाँदाखेरि त हामी ‘सेन्सेटिभ इस्यु’ र कामको कुरै गर्दैनौँ । खाएका वेला त ‘अबको होलिडे हामीले यसरी मनाउने, यस्तो रमाइलो गर्ने’ भन्ने कुरा मात्रै गर्छौँ । खाएर रमाइलो पो गर्ने हो ।

उमेरसागै रोमान्टिकपन घट्दो रहेछ

८८. रोमान्टिक कत्तिको हुनुहुन्छ ?

उमेरसँगै रोमान्टिकपन पनि घट्दै जाँदो रहेछ । प्राथमिकता पनि परिवार, बच्चाहरू पर्न थाल्छन् । तर, यसको अर्थ पूरै हरायो भन्ने होइन, ‘इट्स डिफरेन्ट काइन्ड् अफ लभ’ क्या । पहिलोजस्तो त होइन, तर नयाँ ढंगको हुँदो रहेछ ।

८९. कस्तो वेला रोमान्टिक मुडमा देखिनुहुन्छ ?

‘होलिडे’ वेला नै हो रोमान्टिक बन्ने । त्यतिवेला हामी कसैको फोन सम्पर्कमा पनि हुँदैनौँ । ‘फुल्ली इन्जोय’ गर्ने हो ।

९०. गीत गुनगुनाउने बानी कत्तिको छ ?

कहिलेकाहीँ पुरानो गीत वेला–वेला गुनगुनाउछिन् । नयाँ टेस्ट लिन बाहिर जान्छौँ

९१. दुईजना बाहिर खाना/खाजा खान कत्तिको जानुहुन्छ ?

गइन्छ वेला–वेलामा नयाँ टेस्ट लिन । साथीहरूसँग जमघट हुन्छ । काठमाडौंमा राम्रो नयाँ रेस्टुरेन्ट कता खुल्यो, त्यता जान्छौँ ।

९२. तपाईंले लैजानुहुन्छ कि उहाँले कर गर्नुहुन्छ ?

दुवैले भन्छौँ । अहिले बजारमा झोल म:म आएको रहेछ । अस्ति केही दिनअगाडि त्यसको स्वाद लिन गयौँ ।

९३. बाहिर खान जाँदा कस्तो ठाउँ रोज्नुहुन्छ ?

क्वालिटी भएको राम्रो रेस्टुरेन्टमा जान्छौँ । खानामा पनि उनी एकदमै सचेत छिन् । जे पायो त्यही खायो भने पेट बिग्रन्छ उनको ।

९४. सहयोगी, मिलेर काम गर्ने भावना कत्तिको छ ?

सहयोगी भावना त राम्रो छ । तर, एफएनसिसिआईमा लागेपछि समय नै पाउँदिनन् । ‘लौ न यस्तो गरौँ’ भनेपछि ‘मलाई टाइम छैन’ भन्छिन् । कहिलेकाहीँ त मलाई रिस उठ्छ, एफएनसिसिआई देखेर । कहाँ फसियोजस्तो लाग्छ । तर, उनको जिम्मेवारी हो त्यो, त्यसमा लाग्ने इच्छा पनि छ । लिडरसिप क्षमता पनि बढाउँदै लगेकी छिन् ।

फेसबुक चलाउादिनन्

९५. कस्ता कुरामा खुसी मान्नुहुन्छ ?

परिवार र बच्चाहरू सफल हुँदा, एफएनसिसिआईको काम सफल हुँदा खुसी मान्छिन् ।

९६. कस्ता घटनामा धेरै दु:खी बन्नुहुन्छ ?

बच्चाहरूले राम्रो गर्न सकेनन्, सोचेको काम बन्न सकेन भने दु:ख मान्छिन् ।

९७. खुसी कसरी साट्नुहुन्छ ?

परिवारमा सेयर गर्छिन् । कहिलेकाहीँ पार्टी गरिन्छ, घुम्न जाने गरिन्छ ।

९८. सामाजिक सञ्जालमा कतिको रमाउनुहुन्छ ?

रमाउँछिन् । इमेल, ह्वाट्सअपमा रमाउँछिन् । फेसबुक अकाउन्ट छैन ।

९९. फेसबुक किन नचलाउने नि ?

मैले नै फेसबुक अकाउन्ट नखोल्न भनेको हुँ । सामाजिक पद धारण गरेपछि विभिन्न थरी ‘रियाक्सन’ आउन सक्छन्, ‘टेन्सन’ हुन्छ । त्यसभन्दा त नचलाएकै राम्रो ।

१००. तपाईं चलाउनुहुन्छ कि हुन्न ? म त चलाउँछु ।

१०१. पुस्तक पढ्ने बानी कत्तिको छ ?

पुस्तक पढ्छिन्, तर ‘सेलेक्टेड’ मात्रै । बेस्ट सेलर, बजारमा चर्चा भएका किताबहरू पढ्छिन् । अहिले त टिभीबाटै धेरै कुराहरू थाहा हुन्छ ।

नयाँ पत्रिका दैनिकबाट साभार