सांसद सीतादेवी यादव नेपाली कांग्रेसकी एक मात्र महिला जिल्ला सभापति हुन् । सिरहा क्षेत्र नम्बर ३ बाट संविधानसभाको दोस्रो निर्वाचनमा विजय हासिल गरेकी यादव ०५७ सालमा श्रीमान् चन्द्रनारायणको हत्यापछि सक्रिय राजनीतिमा आइन् । महिला नेतृ हुनुका सुख–दु:ख के हुन्, उनी कस्ता समस्यासाग जुधिरहेकी छिन् भन्ने जिज्ञासा राख्दै नयाँ पत्रिकाका रमेश सापकोटाले उनलाई भेटे । उनले भनिन् :
श्रीमानको हत्याले राजनीतिमा ल्यायो
मैले कांग्रेसको क्रियाशील सदस्यता पहिल्यै लिएकी थिएँ । तर, राजनीतिमा सक्रिय थिइनँ । त्यो घटना नभएको भए सायद म राजनीतिमा आउने थिइनँ । ०५७ साल असारको कुरा हो । माओवादीले देशमा सशस्त्र द्वन्द्व गरिरहेको थियो । राजनीतिक पूर्वाग्रहकै कारण मेरा श्रीमान् (चन्द्रनारायण)को हत्या गरियो । त्यसपछि मैले साथीहरूको सान्त्वना पाएँ, मलाई राजनीतिमा आउने सल्लाह दिनुभयो ।
सहयोग गर्छु भन्ने उहाँहरूको अनुरोध र आग्रहका कारण म राजनीतिमा आएँ । श्रीमान् जिविस सभापति हुँदादेखि उहाँको लोकप्रियता चुलिएको थियो । तर, उहाँको हत्या भयो । मलाई जिल्लाका साथीहरूले जिल्ला सभापति बनाउनुभयो । सिरहाका ६ वटै निर्वाचन क्षेत्रका कांग्रेस नेताहरूले हामी सघाउँछौँ भनेर वचन दिनुभयो । ममा उत्साह जन्मियो । त्यही उत्साहका कारण म ११औँ महाधिवेशनबाट पनि सभापतिमा निर्वाचित भएँ ।
सक्रिय थिएँ, सांसद बनेँ
पुरुषले मात्रै राजनीति गर्ने हो भन्ने सोच छ हाम्रो समाजमा । तर, त्यस्तो होइन । म राजनीतिमा लागेपछि सक्रिय हुन थालेँ । सक्रिय भए मात्रै राजनीतिमा आफ्नो वर्चस्व स्थापित गर्न सकिन्छ भन्ने लाग्यो । राजनीति मेरो नसा–नसामा बग्न थाल्यो । मेरो सक्रियताकै कारण पार्टीले मलाई सांसदमा मनोनीत गर्यो ।
पहिलो हारबाट सिको, दोस्रोमा जित्यौँ
पहिलो संविधानसभामा कांग्रेसले सिरहाको एउटै क्षेत्रमा पनि जित्न सकेन । यसका अनेक कारण छन् । तर, त्यही हारलाई शक्तिमा बदल्ने कुरा मेरो मनमा पहिलेदेखि नै थियो । त्यसैले, संविधानसभाका लागि भएको दोस्रो निर्वाचनमा हामीले सजगता अपनायौँ । सिरहामा ४ सिट जित्न सफल भयौँ । महिला नेतृ भएकैले मलाई डर, धम्की र त्रास निकै देखाइएको थियो, तर म पछि हटिनँ ।
महिला नेता हुनुका दु:ख
अहिले पनि म महिनामा कम्तीमा तीनचोटि जिल्ला जान्छु । कसैलाई आपत्–विपत् पर्यो भने सक्दो सहयोग गर्छु पनि । जिल्ला कार्यसमितिका पदाधिकारी कार्यसमितिका सदस्यहरूको राम्रो सहयोग पाउँछु । तर, यसको अर्थ यसरी राजनीतिमा लाग्दा कुनै अप्ठ्यारा, चुनौती छैनन् भन्ने होइन । कतिले त महिला हो गर्न सक्दिनँसमेत भन्छन् ।
तर, म डटेर लागेकी छु, समाधानमा ध्यान दिन्छु । समस्याबाट भाग्दिनँ । सक्रियता नै हेर्ने हो भने मलाई सायद साथीहरूले महिला भन्दैनन्, पुरुष भन्छन् । म पुरुष साथीभन्दा कम खटेकी छैन । महिलाले काम गर्न सक्दैनन् भन्ने पुरुष मानसिकता छ, तर सबै खालका अप्ठ्यारालाई पार लगाउन सक्ने भएरै होला, साथीहरूले मलाई आदर गर्छन् । म काममा विश्वास गर्छु, सत्यमा विश्वास गर्छु, साथीहरूको काममा विश्वास गर्छु ।
भ्याएसम्म सबैलाई आदर, सम्मान र सहयोग गर्दै आएकी छु । दु:ख सबैलाई हुन्छ । तर, महिलालाई परेको दु:ख पुरुषको भन्दा ठूलो हुन्छ । त्यो समाधान गर्न पनि पुरुषको साथ चाहिन्छ । म पनि सहयोग माग्न अप्ठ्यारो मान्दिनँ । अप्ठ्यारो भयो भनेर समस्याबाट भाग्न हुँदैन । ‘म्यानेज’ गर्ने शक्ति चाहिन्छ । सबैको सहयोग लिएर सबै अप्ठ्यारालाई सामना गरेरै हो, म तीनपटकसम्म जिल्ला सभापति भएँ ।
मलाई साथीहरू मिलनसार भन्छन्
म पनि सबैलाई मान–सम्मान गर्छु, बोलाउँछु, छलफल गर्छु, संगठनका विषयमा कुरा गर्छु । मेरो मनमा नराम्रो केही छैन । साथीहरूले सबैले सिरहाको सभापतिजी कति मिलनसार, समझदार छ भन्नुहुन्छ ।
सहकर्मी साथीहरू नेता–कार्यकर्ताबाट राम्रो सम्मान पाएकी छु । काम नगरी कसैले पनि पत्याउँदैनन् । त्यसैले सबैले जति सकिन्छ, आफ्नोतर्फबाट योगदान गर्नुपर्छ । तर, राजनीतिमा धेरै अप्ठ्यारा आउँछन् । अप्ठ्याराको सामना गर्नुपर्ने आत्मविश्वास हुनुपर्छ । यो काम राम्रो हो भनेर साथीसँग सल्लाह गरेर काम गर्दा महिलाले पनि सबैखाले चुनौतीको सामना गर्न सक्छन् ।
मधेसको खाँचो शिक्षा
मधेसमा महिला एकदम पिछडिएका छन् । उनीहरूलाई शिक्षा र चेतनाको खाँचो छ । चेतना नभएका उनीहरूलाई मूलधारमा ल्याउने प्रयासस्वरूप तराईमा मैले ४० वटा बालविकास केन्द्र नै खोलेँ । तर, मेरो प्रयास सानो हो । मधेसमा चेतना र शिक्षा दिने काम नेताहरूले मञ्चबाट चिच्याउँदैमा हुँदैन । जडमा गएर समस्या कहाँ, के हो त्यहीँ पुग्नुपर्छ ।
मधेसीका बच्चाबच्ची पढ्दैनन्, अनि मधेसको विकास कसरी हुन्छ ? मधेसी महिलाहरू शिक्षित छैनन् भने अनि कसरी मधेसमा विकास हुन्छ ? सचेतना र विकासका लागि तल्लो तहदेखि पहल र कार्यक्रम गर्नु जरुरी छ । महिलाको आर्थिक आयआर्जनका लागि १५–२० वटा गाउँमा सिलाइबुनाइको कार्यक्रम चलाइएको छ । तर, यसले अझ समस्या समाधान भएको छैन । यो ठूलो कार्यक्रम होइन, तर दिदीबहीनी यस्ता स्वआर्जनका गतिविधिबाट असाध्यै खुसी हुन्छन् ।
हाम्रो समाजमा पुरुष मानसिकता राम्रो छैन
नेता भएकाले होला, मप्रति धेरै पुरुष साथीहरूको सहयोग छ । तर, सबै महिलाप्रति हाम्रो समाजका पुरुष राम्रो सोच्दैनन्, उनीहरूको मानसिकता राम्रो छैन । उनीहरू महिला अगाडि आएको हेर्न चाहँदैनन् ।
आफ्नी श्रीमती राजनीतिमा नलागोस् भन्ने मानसिकता छ । बहिनी राजनीतिमा नलागोस् भन्ने पनि छन् । म नै सबैथोक हुँ, यी महिलालाई किन अघि बढाउने भन्ने सोच पुरुषहरूमा पाइन्छ । तर, खासमा भन्ने हो भने समस्याको समाधान पुरुष–महिला सबै मिलेर गर्नुपर्छ । उचाइ छुनका लागि महिला र पुरुषबीच सहकार्य हुन जरुरी छ ।
साभारः नयाँ पत्रिका दैनिकबाट















प्रतिक्रिया