
काठमाडौँ, २४ पुस । प्रधान सेनापति राजेन्द्र क्षेत्रीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जेफ्री फेल्टम्यानले जङ्गी अड्डामा आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सो भेटमा नेपाली सेनाले विश्व शान्तिका लागि पु¥याउँदै आएको बहुआयामिक योगदानका विषयवस्तु, आगामी दिनमा गरिने सहयोग एवम् सहकार्यका क्षेत्रलाई कसरी विस्तार गर्ने र नेपालमा शान्ति सुरक्षाको विद्यमान वस्तुस्थितिका सम्बन्धमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भेटमा उपमहासचिव फेल्टम्यानले द्वन्द्वग्रस्त मुलुकमा परेको सङ्कटको समयमा संयुक्त राष्ट्रसङ्घलाई आवश्यक परेको फौज यथाशीघ्र खटाई विश्व शान्ति स्थापना कार्यमा नेपाली सेनाले खेलेको अग्रणी भूमिकाका लागि प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सो अवसरमा प्रधान सेनापति क्षत्रीले संयुक्त राष्ट्रसङ्घका तर्फबाट नेपाली सेनालाई विश्वास गर्दै अन्तर्राष्ट्रिय शान्ति तथा स्थायित्वका लागि समग्र मानवजातिको हितका लागि कार्य गर्ने अवसर उपलब्ध गराइराखेकामा कृतज्ञता ज्ञापन गर्नुभएको थियो । रासस












प्रतिक्रिया