
काठमाडौँ, २४ पुस । संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जेफ्री फेल्टम्यानले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुलाई वार्ताका माध्यमबाटै तराईमा देखिएको वर्तमान समस्याको समाधान खोज्न आग्रह गर्नुभएको छ ।
मोर्चाका शीर्ष नेताहरुसँग आज राजधानीमा भएको भेटमा उपमहासचिव फेल्टम्यानले सरकारसँगको वार्तालाई निरन्तरता दिई वार्ताकै माध्यमबाट समाधान खोज्न सुझाव दिनुभएको भेटमा सहभागी नेताहरुले बताएका छन् ।
भेटमा उपमहासचिव फेल्टम्यानले मधेसको समस्या र मागका बारेमा जिज्ञासा राख्नुभएको र मोर्चाका नेताहरुले त्यसबारेमा उहाँलाई विस्तृत जानकारी गराएको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
मोर्चाका नेताहरुले मधेसको आन्दोलनमा भएको दमनले मानवाधिकार हनन भएको बारेमा समेत जानकारी गराएका थिए भने उपमहासचिव फेल्टम्यानले मुलुकभित्रका समस्या सबै दल र पक्ष आपसमा मिलेर समाधान गर्न सुझाव दिनुभएको सहअध्यक्ष कर्णले बताउनुभयो ।
यसअघि आजै उपमहासचिव फेल्टम्यानले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको थियो । संविधान जारी भएपछिको नेपालको राजनीतिक अवस्थाबारे जानकारी लिन उपमहासचिव फेल्टम्यान बिहीबार नेपाल आउनुभएको हो । रासस












प्रतिक्रिया