गौशाला, २४ पुस । महोत्तरी र धनुषा जिल्लाको संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागारबाट छजना कैदीबन्दीलाई क्षेत्रीय कारागार झुम्का सारिएको छ ।
एक सय ३५ जना कैदीबन्दी मात्रै राख्ने क्षमता रहेको जलेश्वर कारागारमा क्षमताभन्दा करिब तीनगुणा बढी कैदीबन्दी भएकाले महोत्तरी कारागारबाट छजनालाई सुनसरीको झुम्का कारागारमा सारिएको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो ।
राणाकालीन अति जीर्ण कारागार र विगत पाँच महिनादेखि तराई मधेसमा जारी आन्दोलनका कारण सुरक्षामा चुनौती रहेको तथा कैदीबन्दीको चापले अवाञ्छित गतिविधि हुनसक्ने आशङ्कामा जिल्ला प्रशासन कार्यालय महोत्तरीको आदेशमा कारागार प्रशासनले छजना कैदीबन्दीलाई क्षेत्रीय कारागार झुम्कामा सारिएको हो ।
सारिएका बन्दीमा धनुषा जिल्लाको लक्ष्मीपुर बगेवा गाविस– ७ बस्ने जनतान्त्रिक तराई मुक्ति मोर्चाका प्रमुख राजन मुक्ति भन्ने रञ्जीत झा, बलहासघारा गाविस– १ बस्ने पत्रकार उमा सिंहका हत्यारा स्वामी भन्ने उमेश यादव, जनकपुर– ७ बस्ने करेन्ट भन्ने राकेशकुमार पाण्डे, दिगम्बरपुर– ५ बस्ने धीरज लामा, गोपालपुर– २ बस्ने सुनिलकुमार अधिकारी र महोत्तरी जिल्ला बथनाहा– ४ बस्ने अजय मुक्ति भने दीपककुमार सिंह रहेका छन् ।
राजन मुक्तिमाथि कर्तव्य ज्यान, अपहरण, लागुऔषध, विष्फोटक पदार्थ, सङ्गठित अपराधसहित १४ मुद्दा, उमेश यादवमाथि कर्तव्य ज्यान, अजय मुक्तिमाथि ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, अपहरण लागुऔषधसहित सात मुद्दा, करेन्टमाथि कर्तव्य ज्यान, सुनिल अधिकारीमाथि कर्तव्य ज्यान र धीरज लामामाथि जबर्जस्ती करणी मुद्दा रहेको कारागार कार्यालय महोत्तरीले जनाएको छ ।
एक सय ३५ जना कैदीबन्दी राख्ने क्षमता रहेका जलेश्वर, महोत्तरी कारागारमा अहिले छ आश्रित बालबालिका, ३४ महिला, आठ बर्मेली, १८ भारतीयसहित ३८४ कैदीबन्दी रहेका छन् । रासस












प्रतिक्रिया