लहान, २४ पुस । ललाइफकाई भारततर्फ लग्दै गरेको अवस्थामा प्रहरीले गएराति सिरहाको इनर्वा गाविस– ६ स्थित भारतीय सीमावर्ती क्षेत्रबाट दुई बालिकालाई उद्धार गरेको छ । उनीहरुलाई भारततर्फ लगिरहेको एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ ।
प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरी टोलीले सिरहाको इनर्वा–७ स्थित नेपाल–भारतको दशगजा क्षेत्रबाट उदयपुरको सुन्दरपुर गाविस– २ की १३ वर्षीया सरिता सदा र सोही ठाउँकी १४ वर्षीया सुशीला सदालाई उद्धार गरेको हो ।
ती दुवै बालिकासँगै रहेका उदयपुरको हडिया गाविस– २ निवासी मो. मुख्तारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।
हिँडाउँदै बालिकालाई भारततर्फ लैजाँदै गरेपछि शङ्का लागेर प्रहरीले उनीहरुसँग सोधपुछ गरेको थियो ।
‘लहान हिँड्, काममा लगाइदिन्छु, पैसा पनि दिन्छु’ भन्दै दुवै बालिकालाई मुख्तार र अन्य एकजनाले भारततर्फ लान खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । पक्राउ परेका मो. मुख्तारमाथि मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा मुद्दा चलाइने भएको छ । रासस












प्रतिक्रिया