तुलसीपुर (दाङ), २४ पुस । तुलसीपुर नगरपालिकाले वडा नं ५ मा रहेको बधशालामा बायोग्यास प्लान्ट निर्माण गरेर सञ्चालनमा ल्याएसँगै अहिले बधशालाको दुर्गन्धमा कमी आएको छ ।
बधशालामा दैनिक बध गरिने कुखुरा, खसी, बोका, राँगाको मल बायोग्यास प्लान्टमा राख्ने गरिएको छ ।
त्यसबाट आफूहरुलाई स्वच्छ रुपमा व्यवसाय गर्न सजिलो भएको मासु व्यवसायीहरुले जनाएका छन् ।
तुलसीपुर नगरपालिकाको रु १० लाख, पशुसेवा कार्यालय दाङको रु एक लाख र स्थानीय उपभोक्ताको रु एक लाख ७० हजार गरी कुल रु १२ लाख ७० हजारको लागतमा त्यहाँ बायोग्यास प्लान्ट निर्माण गरिएको तुलसीपुर नगरपालिकाका इन्जिनियर पवनकुमार योगीले जानकारी दिनुभएको छ ।
पैँतीस घनमिटरको बायोग्यास प्लान्टबाट तीनवटा चुला बल्ने गरेका छन् ।
इन्धनको अभाव भइरहेका बेला सञ्चालनमा ल्याइएको बायोग्यास प्लान्टले आफूहरुलाई निकै राहतको महसुस भएको मासु व्यवसायी समिति तुलसीपुरका अध्यक्ष अर्जुनबहादुर खड्काले बताउनुभयो । रासस















प्रतिक्रिया