३१ आश्विन २०८३, शनिबार

डेढ घन्टाको बाटो १० मिनेटमा छोट्याउने झोलुङ्गेपुल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jholunge-pulपोखरा, २४ पुस । पोखरा उपमहानगरपालिका–२४ कृष्तिनाच्ने चौरको दम्सादीबाट उपमहानगरपालिका–१७ स्थित पहलतरा जोड्ने फुस्रे खोलामाथि झोलुङ्गेपुल निर्माण हुने भएको छ ।

पुलको अभावमा वर्षौंदेखि लगभग डेढ घन्टा पैदल हिँड्न बाध्य कृष्तिनाच्ने चौर, निर्मलपोखरीलगायत स्थानका स्थानीयवासी सो पुल निर्माण भएपछि भने १० मिनेटमा आवतजावत गर्न सक्ने छन् ।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालयद्वारा रु एक करोड २२ लाख ५० हजारको लागतमा निर्माण गर्न लागिएको २७६ मिटर लामो लम्बाइको पुलको एक कार्यक्रमबीच व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले बिहीबार शिलान्यास गर्नुभयो ।

सभापति अधिकारीले प्रचुर पर्यटकीय सम्भावना बोकेको यस स्थानको विकासका साथै आसपासका कास्कीको निर्मलपोखरी, स्याङ्जाको पौवै गौँडे, टक्सार, फेदीखोला लगायतका स्थानका सर्वसाधारणका लागि पनि पुल अत्यन्त उपयोगी हुने बताउनुभयो ।

पोखरा विमानस्थल शिलान्यास आगामी माघ १६ गते हुने गरी तयारी भइरहेको बताउँदै उहाँले विकास निर्माणमा सबै राजनीतिक दलको सामूहिक प्रतिबद्धता र सहयोग आवश्यक हुने धारणा राख्नुभयो । पोखरा र यस आसपासका क्षेत्रको विकासका लागि उत्तरमा केरला नाकादेखि दक्षिणमा सुनौलीलाई जोड्नुपर्नेमा उहाँको जोड थियो ।

झोलुङ्गेपुल उपभोक्ता समितिका अध्यक्ष तारानाथ आचार्यले पुलकै अभावमा लामो समयदेखि पीडामा रहेका सर्वसाधारणलाई पुल निर्माण हुने कुराले अत्यन्त उत्साहित बनाएको छ भन्नुभयो । झोलुङ्गेपुल निर्माणका लागि हेमकुमार श्रेष्ठ, वेदनाथ आचार्य र भीमलाल आचार्यले आवश्यक जग्गा उपलब्ध गराउनुभएको थियो । रासस