– झलक पाली
डोटी, २४ पुस । महिलाको खण्डिकृत तथ्याङ्क संकलनका लागि महिला तथा बालबालिका मन्त्रालयले योजना बनाएर काम गर्नुपर्नेमा डोटीका महिला विकास अधिकृत निर्मला दाहालले जोड दिएकी छिन् ।
युएन ओमनको सहयोगमा सिर्जनशील विकास समाज नेपाल डोटीको आयोजनामा विहीबार सम्पन्न निर्णय प्रक्रियामा महिला नेतृत्व र क्षमता अभिवृद्धिका लागि जिल्ला स्तरीय कार्यशाला गोष्ठिमा बोल्दै यस्तो बताएकी हुन् ।
विभिन्न बेलामा विभिन्न निकायबाट महिलाको वास्तविक अवस्थाका बारेमा प्रश्न उठ्ने गरेकाले महिला तथा बालबालिका कार्यालयसँग खण्डिकृत तथ्याङ्क नहुँदा काम गर्न नै कठिनाई भएको दाहालले बताईन् ।
खण्डीकृत तथ्याङ्कका लागि मन्त्रालयले निश्चित सूचकहरु तोकेर कार्य विधी बनाएर बजेट विनियोजन गरी काम गर्नु आवश्यक रहेको उनको भनाई छ ।
खास गरी महिलाको विकासका लागि स्थानीय निकायबाट विनियोजन हुने बजेटको सहि सदुपयोगका लागि राजनीतिक दलको भूमिका अहम् हुने भएता पनि त्यो हुन नसकेको बताईन् । उनले भनिन्–‘घरमा को छ भनेर सोध्दा, कोहि छैन भनेर जवाफ दिने महिलाले कसरी योजना बनाउँछन् र कसरी प्रस्तावना लेख्छन् ? तसर्थ राजनीतिक दलले उनिहरुको हितमा हुने गरी बजेट विनियोजन गर्नुपर्दछ ।’ उनले थपिन्–‘राजनीतिक दलको केन्द्रदेखि स्थानीय तहसम्म संरचना हुने भएकाले दलहरुले आँटे महिलाको विकासमा धेरै कुरा सम्भव हुने देखिन्छ ।’
सामाजिक, साँस्कृतिक, आर्थिक शशक्तिकरणका कुरा एकै पटक देखाउन नसकिने कुरा भएकाले महिला तथा बालबालिका कार्यालयले गरेका कामहरु देखाउन मिल्ने खालका नभएको दाहालले बताईन् ।
कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादी डोटीका सचिव शिव सिं ओलीले महिलाको राजनीतिक, सामाजिक, साँस्कृतिक, आर्थिक सबै खालको तथ्याङ्क बाहिर ल्याएर काम गर्न सके मात्रै प्रभावकारी हुनेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा बोल्दै दलित महिला संघ डोटीका अध्यक्ष शशी सोवले महिलाहरु घरायसी कामको बोझका कारण पनि बाहिर आउन नसक्दा नेतृत्व र क्षमता विकास हुनबाट वञ्चित रहेकाले महिला पुरुषहरुको समान रुपले श्रम विभाजन गर्नेतर्फ पनि सबैले लाग्नुपर्ने बताईन् । त्यस्तै अहिले विद्यालयहरुमा पढाई हुने पाठ्यक्रममा आमाले आना पकाईन्, महिलाले खाना पकाईन् भन्ने पाठ भएको र बुबाले खाना पकाए अथवा पुरुष खाना पकाए भन्ने कहिं कतै समावेश गरिएको नभएर बालबालिकामा मानसिक छाप नै गलत परिरहेको सोवले बताईन् ।
त्यस्तै महिला तथा बालबालिका मन्त्रालयका उप–सचिव एवं लैङ्गिक मूल प्रवाहीकरण शाखा प्रमूख जयलाल तिवारीले बालबालिकालाई खेल्न दिईने खेलौना ‘भाणाकुटी’ कै माध्यमबाट पनि महिला पुरुषबिचको विभेदको मानसिकता बालबालिकामा प्रवाह भईरहेको बताए ।
नेपालमा महिला शान्ति र सुरक्षा सम्बन्धी प्रभावकारी कार्यान्वयन परियोजनाको अनुगमनमा डोटी पुगेका उप–सचिव तिवारीले यहाँका सुझाव सल्लाह र गुनासालाई मन्त्रालयमा पु¥याईने विश्वास समेत दिलाए ।
कार्यशालाको उद्घाटन शत्रको समापनमा बोल्दै सिर्जनशील विकास समाज डोटीका अध्यक्ष लक्ष्मण खड्काले महिलाको क्षमता अभिवृद्धि, निर्णय प्रक्रियामा सहभागिता अभिवृद्धि र आयआर्जनमा सहभागिताका लागि सरोकारवालाहरुले लाग्नुपर्ने प्रतिवद्धता होस् भन्ने उद्धेश्यले कार्याशाला गोष्ठिको आयोजना गरिएको बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत जनकराज शर्माले ‘नीति निर्माण तहमा महिला सहभागिता र नेतृत्व विकास’, महिला तथा बालबालिका कार्यालय डोटीका महिला विकास अधिकृत निर्मला दाहालले ‘नेपालको संविधान २०७२ मा महिलाका हक सम्बन्धी व्यवस्था’, डोटीका सहायक प्रमूख जिल्ला अधिकारी मोहनराज जोशीले संयुक्त ‘राष्ट्र संघ सुरक्षा परिषदको प्रस्ताव नं. १३२५ र १८२० मा भएका व्यवस्थाबारे’ र आयोजक सँस्था अध्यक्ष खड्काले सो सम्बन्धी ‘राष्ट्रिय कार्ययोजनाको स्थानीयकरण’ सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
सिर्जनशील विकास समाजले डोटीका पाँच वटा गाविसहरुमा १५ डिसेम्बर सन् २०१३ देखि डिसेम्बर २०१५ सम्म नेपालमा महिला शान्ति र सुरक्षा सम्बन्धी प्रभावकारी कार्यान्वयन परियोजना सञ्चालन गरेको छ । परियोजनाको रिपोर्टिङ्का हिसाबले आगामी मार्चसम्म समय सिमा तोकिएको बुझिएको छ ।












प्रतिक्रिया