३१ आश्विन २०८३, शनिबार

स्थानीय निकायको निर्वाचनको तयारीमा जुट्नुस् : प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli-1काठमाडौँ, २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निकायको निर्वाचन छिटो सम्पन्न गर्न सके भूकम्पबाट भएको क्षतिको पुनःनिर्माण तथा विकास निर्माणसँग सम्बन्धित कार्य गर्न सघाउ पुग्ने बताउनुभएको छ ।

निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय निकाय निर्वाचनका लागि आवश्यक कानुनमा गरिनुपर्ने संशोधनलगायत प्रक्रिया छिटो सम्पन्न गरिने आश्वस्त गराउँदै निर्वाचनको आन्तरिक तयारीमा अघि बढ्न आयोगलाई सुझाव दिनुभयो ।

निर्वाचनलाई अझै स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन निर्वाचनमा मतदान परिचयपत्रको अनिवार्यतातर्फ प्रधानमन्त्री ओलीले आयोगको ध्यानाकर्षण गराउनुभयो ।

सो अवसरमा कावा प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले नयाँ संविधानअनुसार निर्वाचनसँग सम्बन्धित विभिन्न कानुन र राजनीतिक दलहरुलाई व्यवस्थित गर्न एकीकृत कानुनको तर्जुमा भइरहेको र सो कानुनमा आयोगले समावेश गर्ने विषयका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो ।

उहाँले संविधानले प्रदान गरेका विभिन्न समावेशी समूहको प्रतिनिधित्वको सुनिश्चितताका लागि आयोगले ऐनमा व्यवस्था गर्न प्रस्ताव गरेका विषयका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराउँदै आयोगले स्थानीय निकाय निर्वाचनको आन्तरिक तयारी गरिरहेको र निर्वाचन कार्यविधि ऐनको संशोधित मस्यौदा सरकार समक्ष पेस भइसकेकाले यथाशक्य छिटो पारित गरिदिन र निर्वाचनको मिति छिटो घोषणा गर्न आग्रह गर्नुभयो ।

आयोगले मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम, मतदाता शिक्षा, दलहरुको आयव्यायको पारदर्शिता र एकरुपताका लागि दलका लेखासँग सम्बन्धित व्यक्तिलाई आयोगले हालै प्रशिक्षण दिएको थियो ।

निर्वाचन आयुक्त इला शर्माले संविधान संशोधनका क्रममा रहेको सन्दर्भमा आयोगलाई निर्वाचन मिति तोक्ने अधिकार र आयोगको आर्थिक स्वायत्ततासम्बन्धी विषयतर्फ आवश्यक सुधार हुनुपर्नेमा जोड दिनुभयो । निर्वाचनको मितिको निश्चितता भए मात्र निर्वाचनको पूर्व तयारी राम्रोसँग हुने र निर्वाचनको गुणात्मक पक्ष बलियो हुने उहाँको भनाइ थियो । रासस