
काठमाडौँ, २३ पुस । संविधान जारी भएपछिको नेपालको राजनीतिक अवस्थाबारे जानकारी लिन संयुक्त राष्ट्र सङ्घका उपमहासचिव जेफ्री फेल्टम्यान आज राति राजधानी आइपुग्नुभयो ।
यहाँ रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
नेपालका दिगो शान्ति एवम् विकास, भूकम्पपछिको पुनःनिर्माण, नेपालमा जारी राष्ट्रसङ्घीय विकास सहायतालगायत विषयमा पनि उपमहासचिव फेल्टम्यानले प्रमुख दलका शीर्ष नेतासँग विचारविमर्श गर्ने कार्यक्रम रहेको बताइएको छ ।
उपमहासचिव फेल्टम्यानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव एवम् संयुक्त राष्ट्रसङ्घ महाशाखाका प्रमुख ताराप्रसाद पोखरेल र यहाँस्थित राष्ट्रसङ्घीय कार्यालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो । रासस












प्रतिक्रिया