१३ कार्तिक २०८३, शुक्रबार

काभ्रेमा भूकम्पपीडितका लागि सामूहिक आवास बनाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

House

बनेपा, २३ पुस । काभ्रेपलाञ्चोकका पाँच गाविसमा अस्थायी टहरामा बसोवास गरिरहेका भूकम्पपीडितका लागि सामूहिक सामुदायिक आवास निर्माण गरिने भएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागमार्फत भूकम्पपीडितलाई जाडो छल्न भन्दै ‘विन्टर सेल्टर’ (हिउँदे आवास) निर्माण गर्न लागिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख अष्टलाल सुवालले जानकारी दिनुभयो ।

उहाँले पहिलो चरणमा जिल्लाका शिखरआम्वोटे, चौवास, कलातीभूमिडाँडा, च्यासिङ्खर्क र धुसेनी शिवालयमा आवासका लागि त्यस्ता भवन बनाउन लागिएको बताउनुभयो । डिभिजन कार्यालयले एउटा भवन निर्माणका लािग रु ३९ लाख लागत लाग्ने उल्लेख गर्दै थप २४ वटा गाविसमा पनि आवास बनाउन बजेट माग भएको सुवालले जानकारी दिनुभयो ।

आधा रोपनी क्षेत्रफलमा निर्माण हुने त्यस्तो आवासमा आठ कोठा र त्यसमा महिला तथा पुरुष शौचालयसमेत रहनेछन् ।

भूकम्पबाट मृत्युहुनेको सङ्ख्या ३३०

काभ्रेपलाञ्चोकमा हालसम्म भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ३३० पुगेको छ ।

जिल्ला दैवी प्रकोप उद्धार तथा राहत समितिले गत वैशाख १२ गते गएको भूकम्पका कारण थप तीन जनाको मृत्यु भएको जनाएपछि मृतकको सङ्ख्या ३३० पुगेको हो । काभ्रेपलाञ्चोकका प्रजिअ मदन भुजेलले लामो समयदेखि विभिन्न अस्पतालमा उपचार गराइरहेका तीन जनाको मृत्यु भएको पुष्टि गर्दै भूकम्पपीडितले प्राप्त गर्ने सबै प्रकारका राहत उनीहरुका परिवारलाई प्रदान गरिने बताउनुभयो ।

बनेपाका आइतलाल मानन्धर, बालुवापाटीका लालबहादुर तामाङ र कुशादेवीका सावित्री हुमागाईंको मृत्यु भएको हो । भूकम्पका कारण यसअघि ३२७ जनाको मृत्यु भइसकेको छ ।

केन्द्रीय दैवी प्रकोप तथा उद्धार समितिबाट जिल्लामा आएको झण्डै ४०० थान कम्बल जिल्लाको दुर्गम क्षेत्र मानिने महाभारत शृङ्खला डाँडापारीका १२ गाविसमा वितरण गर्ने र न्यानो कपडा खरिदका लागि रु १० हजार यही शुक्रबारभित्र वितरण गरिने भएको छ ।

प्रजिअ भुजेलले भूकम्पपीडितका बारेमा अनुगमन र निरीक्षण प्रभावकारी हुन नसकेको स्वीकार गर्दै अनुगमनलाई प्रभावकारी बनाउन कदम चालिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस