१३ कार्तिक २०८३, शुक्रबार

भक्तपुर अस्पतालमा मुटुरोग उपचार सेवा सुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Heart Mutuभक्तपुर, २३ पुस । भक्तपुर अस्पतालले जिल्लाका मुटु रोगका बिरामीलाई लक्षित गरी मुटु रोगसम्बन्धी उपचार सेवा सुरु गरेको छ ।

अस्पतालले प्रत्येक दिन मुटु रोगको परीक्षण सेवा सुरु गरेको हो । सेवा सुरु गरेपछि बिरामीको चाप बढेको अस्पतालका प्रशासन प्रमुख विश्वप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

सामान्य मुटु रोगको परीक्षण गर्न पनि अन्यत्र जानुपर्ने भक्तपुरका बिरामीलाई अब मुटु रोगको परीक्षण एवम् उपचारका लागि भक्तपुरकै सरकारी अस्पतालले सेवा सुरु गरेको उहाँले बताउनुभयो ।

अस्पतालमा दैनिक रुपमा मुटु रोगको परीक्षण गर्न आउने बिरामीका लागि वरिष्ट फिजिसियन एवम् मुटुरोग विशेषज्ञ डा विनोदकुमार दाहालले सेवा दिन सुरु गर्नुभएको हो ।

भक्तपुर अस्पतालमा स्वास्थ्य परीक्षण गराउन आउने बिरामीमध्ये २० प्रतिशत बिरामीमा मुटु रोग पाइएको जानकारी दिँदै डा दाहालले भन्नुभयो – “मुटु रोगका बिरामी बढ्दैछन्, भक्तपुर अस्पतालमा मुटु रोगको छुट्टै दरबन्दी नभए पनि सेवा आवश्यक भएकाले दैनिक सेवा सुरु गरेका हाँै, अहिले दैनिक २० जनाभन्दा बढी मुटु रोगको परीक्षणका लागि बिरामी आउने गरेका छन् ।”

उच्च रक्तचापका बिरामी, हृदयाघातका बिरामी, मुटुको शल्यक्रिया गरेर भल्भ फेरेर नियमित परीक्षणमा बसेका बिरामी, मुटुको पेसमेकरका बिरामी, मधुमेह, थाइराइडका बिरामीको नियमित स्वास्थ्य परीक्षणका लागि अब अन्यत्र जानु नपर्ने भएको हो ।

त्यस्ता बिरामीलाई भक्तपुर अस्पतालले सेवा दिन सुरु गरेको जानकारी दिँदै डा दाहालले मुटुको शल्यक्रिया गर्नुपर्ने बिरामीलाई गङ्गालाल अस्पताल पठाइने र अरुको यहीँ उपचार गरिने जानकारी दिनुभयो ।

अस्पतालले दुई वर्षअघि प्रत्येक मङ्गलबार ३ बजेदेखि गङ्गालाल अस्पतालका मुटुरोग विशेषज्ञ डा दिपङ्कर प्रजापतिद्वारा मुटु रोगको परीक्षण गर्ने गरी पेइङ क्लिनिक सुरु गरेको थियो । यो सेवा पनि अस्पतालले नियमित रुपमा सञ्चालन गर्दै आइरहेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नवराज गेलालले जिल्लाकै सरकारी अस्पतालका रुपमा रहेको भक्तपुर अस्पतालमा मुटु रोग विभाग नै सञ्चालन गर्नु अति आवश्यक रहेको बताउनुभयो ।

यसका लागि सरकारसँग माग भइरहेको जानकारी दिँदै उहाँले अस्पतालले इको, टिएमटी, आइसियु सेवा सञ्चालनका लागि तयारी गरेको बताउनुभयो ।

यसका लागि सरकारसँग दरबन्दी र आवश्यक मेसिनको माग भइरहेको बताउँदै अध्यक्ष गेलालले सरकारले छिट्टै व्यवस्था गरिदिए भक्तपुर र पूर्वका विभिन्न जिल्लाका बिरामीलाई सहज सेवा दिन सकिने बताउनुभयो ।

डा दाहालले अस्पतालमा इको, टिएमटी, आइसियु सेवा सञ्चालन भए भक्तपुर अस्पतालको उपचार सेवा काठमाडौँका अरु अस्पतालको भन्दा कम नहुने बताउनुभयो ।

तीस वर्ष नाघेका व्यक्तिमा हृदयाघातको जोखिम रहने भएकाले प्रत्येक वर्ष ३० वर्ष नाघेकाले मुटुको परीक्षण गर्नुपर्ने औँल्याउँदै डा दाहालले भन्नुभयो – “२१ वर्षको व्यक्तिलाई पनि हृदयाघात भएको रेकर्ड छ तर पनि ३० वर्ष नाघेकाले प्रत्येक वर्ष मुटुको परीक्षण गराए हृदयाघातबाट बच्न सकिन्छ ।”

भक्तपुर अस्पतालमा सेवा थप हुँदै गएपछि उपचारका लागि आउने बिरामीको चाप पनि बढ्दै गएको छ । रासस