
काठमाडौं, २३ पुस । चार महिना अघि प्रहरी भिडन्तमा मारिएका राजधानीका डन कुमार श्रेष्ठ ‘घैंटे’ की श्रीमती पिंकी शेर्पा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शरणमा पुगेकी छन् ।
पिंकीले घैंटेको पोष्टमार्टम गराई शव बुझेर काजक्रिया गरेको र प्रहरी सर्जिमिन मुचुल्काको कागजपत्र आफूसँग हुँदा हुँदै पनि वडा सचिवलगायतका कर्मचारीहरुले आर्थिक प्रलोभनमा परी मृत्युदर्ता प्रमाण पत्र राजु श्रेष्ठ नाम गरेका व्यक्तिलाई दिएर आफूमाथि अन्याय गरेको भन्दै कारबाहीको माग गरी अख्तियारमा उजुरी हालेकी हुन् ।
‘श्रीमानको मृत्यु पश्चात मलाई नानाथरी कुरा गरी मलाई घरमा बस्न नसक्ने अवस्था सिर्जना गरिएको छ । मेरो प्रहरी मुचुल्का तथा मेरो छोरीको स्कुलको नाम र इन्स्योरेन्सको डकुमेन्टमा समेत श्रीमतीको नाम पिंकी शेर्पा नै लेखिएको छ । पतिसँग वि.सं २०६८ सालदेखि नै बसी छोरी सिम्रीका श्रेष्ठ र फूपु सरस्वती श्रेष्ठ समेत मिलेर बस्दै आएकोमा पतिको दुर्घटनामा परी मृत्यु भएपछि मलाई एक्लो महिला ठानी यस पुरुष प्रधान समाजमा विहे दर्ताको कागज नभएको भन्ने नाममा अधिकार विहिन बनाउने प्रयत्न गरेकाले सो सम्बन्धमा अयोगले सत्य साँचो बुझी आफूलाई न्याय दिलाई पाउँ ।’ उनले हालेको उजुरीमा उल्लेख छ ।
राजु श्रेष्ठ नाम गरेका व्यक्तिले २९ नम्बर वडा कार्यालयमा कुमार श्रेष्ठको श्रीमती नै छैन भनी निवेदन दिएपछि प्रहरीले पुनः स्थलगत सर्जिमिन गरी घैंटेको श्रीमती पिंकी नै भएको प्रमाणित गर्दा समेत मृत्यु दर्ता प्रमाणपत्र नदिएको उजुरीमा उल्लेख गरिएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।















प्रतिक्रिया