६ कार्तिक २०८३, शुक्रबार

दुगडपछि कालोबजारीमा संलग्न अन्य घरानामा प्रहरीको खोजी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kishan-lal-dugar1काठमाडौं, २३ पुस । भारतीय नाकाबन्दीको समयमा देशमा कालोबजारी गरी ठगी गर्ने व्यापारिक घराना केएल दुगड समूहलाई प्रहरीले कारबाही गरपछि अन्य व्यापारिक घरानाहरु पनि निगरानीमा परेका छन् ।

खाने तेलमा कालोबजारी गरी उपभोक्ता ठगेको अभियोगमा महानगरिय प्रहरी परिसर टेकुले केएल दुगड समूहका सञ्चालकविरुद्ध कारबाही गरी मुद्दा चलाएको यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

जसमा जिल्ला अदालत काठमाडौंले अध्यक्ष किसनलाल दुडगसहितका नौजना सञ्चालक र कर्मचारीविरुद्ध पक्राउ आदेश जारी गरिसकेको छ ।

अदालतले दुगडका व्यवस्थापक अमर जैन र सेल्स अफिसर प्रमोद अधिकारीलाई भने पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले सोमबार थुनामै राखेर अनुसन्धान थाल्न निर्देशन दिएसँगै फरार सञ्चालक र कर्मचारीलाई पक्राउ आदेश जारी गरेको हो ।

कालोबजारी र ठगी अभियोगमा दुगड समूहका सञ्चालक किसनलाल (केएल) दुगडसहित ११ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

खानेतेलमा कालोबजारी गरी उपभोक्ता ठगेको अभियोगमा प्रहरीले १० वर्षसम्म कैद र १३ करोड ८९ लाख ८ सय ६० रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विक्रमसिंह थापाले फरार किसनलालसहित अन्य नौ जनाको खोजी भइरहेको बताएका छन् ।

एसएसपी थापाले उनीहरु जहाँ लुकेपनि प्रहरीले नछाड्ने बताए । मुलुक नाकाबन्दीको मारमा परेका बेला दुगड समूहले कालोबजारी गरेको प्रमाण फेला परेपछि एसएसपी थापाकै सक्रियतामा गोदाममा छापा मारेर थप अनुसन्धान अघि बढाइएको थियो ।

छापा मार्ने क्रममा सो गोदामबाट तेब्बर बढी मूल्य तोकी बिक्रीका लागि बजारमा पठाउन लागिएका विभिन्न ब्रान्डका चार ट्रक खानेतेल प्रहरीले बरामद गरेको थियो ।

प्रहरीले लामो अनुसन्धानपछि दायर गरेको मुद्दामा प्रतिलिटर १ सय २५ रुपैयाँ पर्ने खानेतेलको कृत्रिम अभाव सिर्जना गरी प्रतिलिटर ३ सय २० रुपैयाँमा बिक्री गरिएको लगायतका अभियोग थिए ।

प्रहरीले गोदाममा छापा मारी धारा ब्रान्डको खानेतेल दुई ट्रक, ज्ञान ब्रान्डको एक ट्रक र सन फ्लावर एक ट्रक गरी चार ट्रक तेल नियन्त्रणमा लिएको थियो भने ती सबै सामानमा गैरकानुनी ढंगले नयाँ मूल्य स्टिकर टाँसिएको थियो ।

अनुसन्धानपछि प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत ठगी र कालोबजारीमा दुगड समूहका किसनलाल दुगड, विकास दुगड, नरेश दुगड, कुमुद दुगड, धर्मचन्द्र दुगड, गौतम दुगडविरुद्ध मुद्दा दायर गरेको थियो ।

त्यसैगरी, चन्द्रिकाप्रसाद कुशवाह, रमाकान्त तारिक र प्रदीपकुमार चाचनलाई पनि कालोबजारी र ठगी अभियोग मुद्दामा विपक्षी बनाइएको थियो ।

अदालतले दुगडका यी ठगहरुलाई थुनामा राख्ने आदेश दिएपछि कालोबजारी विरुद्ध झन आक्रमक कारबाही थालिने बताउँदै एसएसपी थापाले यूनाइटेड पोष्टसँग भने–‘अहिलेको समयमा कालोबजारी गरी ठगी धन्दामा संलग्नहरु बोर्डर पारि हुन् वा वारी नै किन नहुन् कानुनी कठघरामा उभ्याएर छाडिन्छ ।’

नाकाबन्दीको मौका छोपेर खाद्यान्न लगायतका सामानमा कालोबजारी भइरहेका विभिन्न स्थानमा पनि निगरानी गरिरहेको थापाले बताए ।

थापाले कालोबजारी गर्ने ठूला हुन् वा साना हुन् सबैलाई कारवाहीको दायरामा ल्याउने उल्लेख गरे । दुगडलाई कम कारवाहीमा उम्काउन नेकपा एमाले, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका नेतृत्व तहले एसएसपी थापालाई दबाब दिए पनि प्रहरीमा हक्की र स्वच्छ स्वभावका उनले उच्च राजनीतिक नेतृत्व, व्यवसायिक संस्थाहरुको दबाबलाई चिर्दै कालोबजारी गर्ने दुगड समूहलाई कारवाहीको दायरामा ल्याएर अनुकरणीय काम गरेका छन् ।

यतिसम्मकी उक्त मुद्दा प्रहरीबाट झिकेर वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा दिन दबाब दिइएको थियो ।

दुगड सूमहका संचालकलाई कारवाही नगरी पक्राउ परेका प्रवन्धक अमन जैन र प्रमोद अधिकारीलाई दण्डित गर्न थापालाई दबाब दिइएको थियो ।

तर एसएसपी थापाले यस्ता दबाबलाई झेलेर सञ्चालक विरुद्ध समेत मुद्दा दायर गर्न सफल भए । कालोबजारी र ठगी विरुद्ध थापाले गरेको प्रयासलाई अदालतले समेत साथ दिएको छ ।