
बैतडी, २१ पुस । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले देश बचेन भने सबै पार्टीको अस्तित्वसमेत समाप्त हुने बताउनुभएको छ ।
एमाले अगुवा कार्यकर्ता भेलालाई बैतडीमा सम्बोधन गर्दै सचिव भट्टराईले पार्टीभन्दा देश ठूलो भएकाले देशको रक्षामा लाग्नुपर्ने बताउनुभयो । पार्टी भने अस्थायी भएको र यो देश बचे मात्रै पार्टी बच्नेछ उहाँले भन्नुभयो, “अहिले देशको रक्षाका निम्ति सबैले लाग्नुपर्नेछ ।”
केन्द्रीय कमिटी सचिव तथा प्रचार विभाग प्रमुख देशमा स्थिरता कायम गर्न तथा सङ्क्रमणकालको अन्त्यका लागि नयाँ संविधान आएको बताउँदै भट्टराईले आफ्नो पार्टीको शान यसैमा रहेको दाबी गर्नुभयो । “देशमा रहेका समग्र समस्यालाई हल गर्नका लागि नयाँ संविधान बनेको हो”, उहाँले भन्नुभयो, “नेपालको नयाँ संविधान विश्वकै उत्कृष्ट संविधान रहेको छ ।”
यो संविधानले सबै जातजाति, भाषाभाषीका अधिकार सुनिश्चित गरेको दाबी गर्नुभयो । समानुपातिक समावेशी चरित्रको संविधानको कसैले विरोध गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।
मधेसमा भइरहेको आन्दोललाई लक्षित गर्दै एमाले सचिव भट्टराईले आन्दोलनबाट समस्याको समाधान नहुने भएकाले वार्ताको माध्यमबाट समस्या समाधानका लागि आग्रह गर्नुभएको छ । रासस












प्रतिक्रिया