काठमाडौँ, २० पुस । नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका क्रममा सुर्खेतमा पत्रकार सुदीप पुरी, सुशील खड्का, ईश्वर अधिकारी र कृष्ण आचार्यमाथि नेपाली सेनाबाट भएको दुव्र्यवहार र हातपातको विरोध गरेको छ ।
महासङ्घले आज विज्ञप्ति जारी गरी स्वतन्त्र रुपमा समाचार सङ्कलन गर्न पाउने पत्रकारको संवैधानिक अधिकारलाई वञ्चित गर्ने गरी सेनाका जिम्मेवार अधिकारीबाट भएको यो कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गरेको छ ।
महासङ्घले प्रेसको संवैधानिक अधिकारको सम्मान गरी पत्रकारको सुरक्षा र निर्बाध प्रेस स्वतन्त्रताको उपभोगको वातावरण निर्माण गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
यही पुस १९ गते वीरेन्द्रनगरमा रहेको सैनिक आवासीय महाविद्यालयमा विद्यार्थीद्वारा शिक्षक कुटिएको विषयमा समाचार सङ्कलन गर्न पुगेका पत्रकारत्रयलाई कर्णेल शिवप्रताप कार्कीले दुव्र्यवहार गर्दै ज्यान मार्ने धम्की समेत दिँदै पत्रकारको क्यामेरा खोसेको महासङ्घले जनाएको छ । रासस












प्रतिक्रिया