
सोल, २० पुस । नेकपा एमालेको महासचिव ईश्वर पाखरेलले कोरियाका नेपालीको तर्फबाट लगानीको साझा प्रस्ताव आए सरकारमार्फत कार्यान्वयनमा पहल गर्ने बताएका छन् ।
एमाले निकट प्रवास संगठन प्रवासी नेपाली मञ्च(ओएनएफ)को पाँचौ अधिवेशनलाई कोरियामा सम्बोधन गर्दै प्रमुख अथिति पोखरेलले कोरियामा सक्रिय विभिन्न राजनीतिक दलहरुले सार्थक छलफल गरी नेपालीहरुको लागि साझा प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।
नेता पोखरेलले कोरियाबाट रेमिटयान्स नेपाल भित्रयाउन र कोरियामा रहेको नेपालीको लगानीलाई सुरक्षित ठाँउमा लगाउन आफूहरु तयार रहेको भन्दै अन्तर संगठनहरुले कंक्रिट प्रपोजल ल्याउन भनेका हुन् । उनले भने– ‘१०० वा ५० कति मेघावाटको हाईड्रो गर्न सकिन्छ वा अरु के लगानी गर्न सकिन्छ ठोस प्रस्ताव ल्याउनुस यसको सहजीकरण गर्न म जिम्मेवार भएका काम गर्छु ।’
उनले लगानीको लागि नेपालको राष्ट्रिय योजना आयोगका व्यक्ति र मन्त्रीसमेतको उपस्थितीमा कार्यक्रम गर्न सकिने र अब प्रवासको संगठन रचनात्मक ढंगले काम गर्न लाग्नुपर्नेमा सुझाव दिए ।
नेपालमा अघोषित नाकाबन्दीले पारेको असरलाई कम गर्न सरकार प्रयत्नशिल रहेको भन्दै वर्तमान सरकार असजिलो अवस्थामा बनेकोमा सबैले बुझिदिनुपर्ने बताए । उनले वर्तमान सरकारले स्वाभिमानको पक्षमा नेपालीहरुलाई गोलबन्द पार्ने, दुई देशबीचको असन्तुतिल सम्बन्धलाई सन्तुलित बनाउने, परनिर्भरता हटाएर नेपालीहरुलाई आत्म निर्भर बनाउने बाटोमा लगाउने बताए ।

अहिले देशमा चलिरहेको वितण्डा लामो नहुने भन्दै पोखरेलले संविधान सम्झौताको दस्तावेज भएकोले यसलाई संसोधन गर्दै जान सकिने बताए । उनले संविधान जारी नहोस भन्ने पक्ष, आफूहरुलाई नसोधी संविधान जारी गरयो भन्ने छिमेकी र संविधानको पक्षमा रहेका हामी आफै पनि जिम्मेवार नहुँदा अहिलेको अवस्था श्रृजना भएको बताए ।
९१ प्रतिशत जननिर्वाचित प्रतिनिधिहरुले पास गरेको संविधानको विरोधमा छिमेकीले लगाएको नाकाबन्दी घोर अमानवीय र युद्धरत समयमा नहुने व्यवहार नेपालीहरुले कहिल्यै नबिर्सन उनको भनाई थियो । संविधान निर्माण नेपालीहरुको विजनेश भएको भन्दै पोखरेलले प्रतिप्रश्न गर्दै भने– ‘हाम्रो विजनेशमा १२–२७ कुरा सुन्न चाहेनौ हामीले के विरायौं ?’
यसैगरी कार्यक्रमका विशेष अतिथी वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्व एसिया ईन्चार्ज राजन राई, दक्षिण कोरियाका लागि नेपाली कार्यकारी राजदूत तथा उपनियोग प्रमुख किरण शाक्य, वरिष्ठ समाजसेवी तथा ओएनएफका सल्लाहकार रुद्र शर्मा, पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष अशोक मैनाली, ओएनएफका पूर्व अध्यक्ष मानध्वज राई, एनआरएन कोरियाका अध्यक्ष राजु श्रेष्ठ, एनसीसी कोरियाका अध्यक्ष प्रेम शाह, जनजाति महासंघ कोरियाका वरिष्ठ उपाध्यक्ष पवन राई, जनसम्पर्क समिति कोरियाका अध्यक्ष गिरीराज कुँवर, जन अधिकारी मञ्चका गणेश कालिकोटे, संघीय समाजबादी फोरमका उपाध्यक्ष यम कुमार राई, एमटियूका अध्यक्ष उदय राई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।















प्रतिक्रिया