३१ आश्विन २०८३, शनिबार

इन्टरनेटको सहायताले बजारीकरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Internet...बाबियाचौर (म्याग्दी), २० पुस । जिल्लाको ग्रामीण क्षेत्र टिकोटका बासिन्दाले इन्टरनेट र सामाजिक सञ्जालको सहायताले कृषि उपजको बजारीकरण गर्न थालेका छन् ।

टिकोटका किसानले सामाजिक सञ्जाल फेसबुकमा आफूकहाँ उत्पादित कृषि उपजको बारेमा पोस्ट गरेपछि बजारका व्यापारीले सोही माध्यमबाट सम्र्पक र मोलमोलाई गर्न थालेका छन् । ताररहित प्रविधिको इन्टरनेट सुविधा उपलब्ध यहाँका किसान घरमै बसेर आलु, बन्दागोभी, काउली, गोलभेँडा, खसीबोका र खरायोको बजारीकरण गरिरहेका छन् ।

“फेसबुकमा आफूसँग भएको उपजको तस्बिर र मात्रा उल्लेख गरेर पोष्ट गरेपछि पोखरा र बेनीका व्यापारीले माग गर्छन्” स्थानीय किसान डिलमाया अर्मजाले भन्नुभयो, “फेसबुकबाट प्रचार र फोनबाट मोलमोलाई गरेर गाडी र ट्याक्टरमा सामान बजारमा पठाउँछौ ।”

हिस्तान गाविस– ४, ५ र ६ मा पर्ने २०० घरधुरीको बसोवास रहेको टिकोटमा रासायनिक मल र बिषादीको प्रयोग नगरिकनै आलु, साग, बन्दागोभी र काउलीखेती गरिन्छ । यसैगरी घरघरमा स्थानीय जातका बाख्रा र खरायो पनि पालेका छन् । यहाँबाट वार्षिक रु दुई करोड बराबरको कृषि उपज बेनी र पोखरा निकासी हुन्छ । हातहातमा मोबाइल र घरघरमा निःशुल्क वाइफाई इन्टरनेट सेवा उपलब्ध भएपछि डोकोमा सामान बोकेर बजारका पसल/पसल डुलाउँदै हिँड्नुपर्ने समस्याबाट कृषकले मुक्ति पाएका स्थानीय टिकोट माविका प्रधानाध्यापक प्रदीप पुनको भनाइ छ ।

“सूचना प्रविधिले यहाँका बासिन्दामा अद्भूत परिवर्तन ल्याएको छ” उहाँले भन्नुभयो, “कृषि उपज बजारीकरण मात्र होइन देश विदेशमा रहेका आफन्तसँग फेसबुक, भाइबर, स्काइपको माध्यमबाट सूचना, सन्देश आदानप्रदान समेत गर्छन् ।” इन्टरनेटको सहायताले टिकोटमा रहेको सामुदायिक उपचार केन्द्रमा टेलिमेडिसिन सेवा समेत सञ्चालनमा ल्याइएको छ । प्रत्येक बिहान ८ देखि ९ बजेसम्म मोडल अस्पताल काठमाडौँका चिकित्सकले टेलिमेडिसिनमार्फत स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरेका छन् ।

यसैगरी अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको भ्रमणमा आउने पर्यटक पनि पृष्ठभूमिमा देखिने हिमालको दृष्यमा रमाउँदै इन्टरनेट चलाउन पाउँदा दङ्ग परेका छन् । टिकोटमा सामाजिक कार्यकर्ता महावीर पुनको प्राविधिक सहयोगमा ताररहित इन्टरनेट सेवा विस्तार गरिएको हो । रासस