३१ आश्विन २०८३, शनिबार

झण्डै डेढ घण्टापछि सुरु भयो प्रमुख तीन दल र मधेसी मोर्चाको ‘निर्णायक’ वार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baluwatar-4-party-Meeting

– विमल योगी
काठमाडौं, १९ पुस । प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीच झण्डै डेढ घण्टापछि वार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको वार्तालाई ‘निर्णायक’ भनिएको छ । वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री भीमबहादुर रावल, एमाले वरिष्ठ नेता झलनाथ खनाल, काँग्रेसका तर्फबाट पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, नेता डा मीनेन्द्र रिजाल र एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा सहभागी हुनुहुन्छ ।

त्यस्तै मोर्चाका तर्फबाट तराई–मधेस लोकतान्त्रिक पार्टीका महन्थ ठाकुर, उपाध्यक्ष हृदयश त्रिपाठी, सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, तराई–मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश यादवको सहभागिता छ ।  आजको वार्तामा मधेस आन्दोलनका मागमा सरकारतर्फबाट ठोस प्रस्ताव पेस गरिनेछ । र त्यसमा सहमति खोजिनेछ ।

निर्णायक भनिएको आजको वार्तालाई राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले बहिष्कार गरेको छ । सदभावनाका महासचिव मनीष सूमनले सरकारले अध्यक्ष महतोमाथि भएको आक्रमण घटनामा माफी नमागेसम्म वार्ता नजाने बताउनुभयो ।

यसअघि तीन दलका शीर्ष नेताबीचको बैठकमा मोर्चासँगको वार्तालाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा साझा धारणा बनाउन छलफल केन्द्रित थियो ।

तीनवटै दलका नेताले आजको वार्तालाई निर्णायक बनाउने यसअघि नै उद्घोष गरिसकेका छन् । त्यसअनुरुप उनीहरु गम्भीर छलफलमा जुटेका छन् । स्रोतका अनुसार आजको बैठकमा मोर्चा पनि केही लचकताका साथ प्रस्तुत हुने अनुमान गरिएको छ ।