
काठमाडौं, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज विहान टेलिफोन वार्ता भएको छ ।
करिब २० मिनेट भएको वार्तामा दुबै प्रधानमन्त्रीले अंग्रेजी नयाँबर्ष २०१६ को शुभकामना आदान प्रदान गर्नुभयो ।
प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका मागलाई सम्बोधन गरेर नेपाल सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारत सरकारले स्वागत गरेकोमा मोदीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
नेपाल र भारतबीचको सम्बन्धलाई सुमधुर बनाउनेबारे समेत उहाँहरुबीच कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले आफूले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको मोदीलाई बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आपूर्ति व्यबस्था सहज नभएकोमा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै रक्सौल–बीरगन्जनाकाबाट आपूर्ति व्यबस्था सहज बनाउन आग्रह गर्नुभयो । जवाफमा मोदीले आफू सदैब आपुर्ति व्यबस्था सहज होस भन्ने पक्षमा रहेको र त्यसका लागि भारतको तर्फबाट कुनै रोकटोक नभएको बताउनुभयो ।
भारतका प्रधानमन्त्री मोदीले रक्सौल बीरगञ्ज नाकाबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको भन्दै नेपालकै राजनीतिक दलहरुले उक्त नाकामा प्रदर्शन गरिरहेकाकारण असजह भएको बताउनुभयो । मोदीले औषधीको अभाव भएका बेला आफूले विदेशमन्त्री सुष्मा स्वराजलाई एयरलिफ्ट गरेर भएपनि औषधि आपूर्ति गर्न भनेको स्मरण गर्नुभयो ।
प्रधानमन्त्री ओली र मोदीबीच द्धिपक्षीय हितका बिषयमा समेत कुराकानी भएको थियो । सो अवसरमा प्रधानमन्त्री मोदीले छिटै भारत भ्रमण गर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्वीकार गर्नुभयो । छिटै परिस्थितिलाई सहज बनाएर भारत भ्रमण गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।












प्रतिक्रिया