१ कार्तिक २०८३, शनिबार

राजेन्द्र महतो मधेसमा ‘हिरो’ बन्न खोजेको उपेन्द्र यादवको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra-mahato-upendra-yadavजनकपुर, १६ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनमा केही नेताले सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लगाउनुभएको छ ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नाम लिँदै उहाँले ‘मेरै नेतृत्वमा आन्दोलन, नाकाबन्दी र झडप भएको हो’ भन्ने भनाई सस्तो प्रचारबाजी र मधेसमा ‘हिरो’ बन्ने दाउ भएको बताउनुभयो ।

वीरगञ्ज नाकामा धर्ना बस्दै आएका सदभावना पार्टीका अध्यक्ष महतो गत शनिबार बिराटनगर रानी भन्सार नाकामा धर्ना दिने क्रममा प्रहरीसँग भएको झडपमा महतो घाइते हुनुभएको थियो । महतो अहिलेसम्म अस्पतालमै हुनुहुन्छ ।

तर, मधेसी मोर्चाका नेता यादवले भने वीरगञ्ज नाका महतोकै कारण अवरुद्ध भएको भन्नु गलत भएको बताउनुभयो । ‘यो प्रचार नै गलत छ । सस्तो लोकप्रियताको मात्र कुरा हो’ उहाँले एक अन्तरवार्तामा भन्नुभयो- ‘वीरगञ्जमा राजेन्द्र महतो जानुअघि पनि बन्द थियो । अहिले उनी छैनन्, तैपनि बन्द छ । वीरगञ्जमा बढी शक्तिसंघीय समाजवादी फोरमको छ, यो सबैलाई थाहा छ ।’

बिराटनगरमा पनि आफ्नै पार्टी बलियो रहेको भन्दै यादवले महतो गएकाले बिराटनगरमा ठूलो झडप भयो भन्ने कसैले तपाई भनोस् नभनोस् मपाई भने जस्तो मात्र भएको बताउनुभयो ।

‘महतोजी एक दिन जानु भो, त्यसकारण ठूलो झडप भयो भन्ने होइन’ उहाँले भन्नुभयो- ‘हाम्रो पार्टीकी नेतृ रेणु यादव जाँदा झडप भयो, म गएँ, झडप भयो । सबैभन्दा धेरै लडाइँ विराटनगर नाकामा भएको छ ।’