१३ कार्तिक २०८३, शुक्रबार

चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएकाको आफन्त भन्छन्- आफ्नो छैन, अरुले दिएकाले चिसो थेगेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

vukampa-pidit-4-660x330

– गोकर्ण भण्डारी
नाम्दु (दोलखा), १५ पुस । दोलखाको नाम्दु गाविस वडा नं ३ खनियाखर्कका ४८ वर्षीय केशव घिमिरेको केही दिनअघि निधन भयो । पुसको चिसोलाई थेग्न नसकेपछि पुसको जाडो र गरिबी नै उनको मृत्युको कारक बन्यो ।

दोलखामा कठ्याङ्ग्रिएर मर्ने उनी १४औँ व्यक्ति हुन् ।

भूकम्पमा घर भत्किएर घाइते भएका घिमिरे त्रिपालको अस्थायी टहरामा थलिएर बस्नुभएको थियो । आफ्नो घरमा पर्याप्तमात्रामा ओढ्ने र ओछ्याउने लुगा नभएपछि छिमेकीले दिएको कपडाको भरमा चिसोमा काम्दै रात र दैनिकी काट्दै आएका आफ्ना छोरा अन्तिममा चिसोले नै आफूहरुबाट छुट्याएर लगेको मृतकका बाबु ८५ वर्षीय महेश्वर घिमिरेले आज रासससँग दुखेसो पोख्नुभयो । मृतकका बुबा महेश्वर भन्नुहुन्छ – “हामी आमा बुबा वृद्धवृद्धा छौँ । हामीलाई पाल्ने बेलामा छोराको मृत्यु भयो । घर लड्यो अब यी नातिनातिनाको बिजोग हुने भयो । कसरी पालनपोषण गर्ने हो ?”

आर्थिक अवस्थामा अत्यन्त नाजुक रहेकाले मृतक घिमिरेका श्रीमती राजधानीमा अरुको घरमा भाडा माँझेर घर व्यवहार चलाउँदै आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “श्रीमान्ले अरुको घरमा गरेको बनिबुतोले बूढाबूढी सासूससुराको पालनपोषण र बालबच्चाको हेरचाह गरिरहेका थियौँ ।” उहाँको घरमा चार जना बालबच्चा र बुबाआमा छन् ।

आर्थिक अवस्था कमजोर भएपछि मृतकका जेठी छोरी सन्तोषी राजधानीमै अरुको घरमा काम गर्दै पढ्दै आउनुभएको छ । माइली छोरी सली घिमिरे मावलमा बसेर पढ्दै छन् । छोरा सरोज र सविना भने गाउँमै रहेको विद्यालयमा पढ्दै आएको मृतककी श्रीमती निता घिमिरेले बताउनुभयो ।

छोराछोरीको उमेर क्रमशः १४, ११, १० र ८ वर्षका रहेका छन् । बुबाको निधनपछि भाइबहिनी, हजुरबा, हजुरआमा र आमाको हेरविचार गर्न आफूहरुलाई समस्या परेको मृतकका जेठी छोरी सन्तोषीले गुनासो गरिन् ।

घर भत्किएर पालमा बस्दै आएका घिमिरेका परिवारलाई छिमेकीले ओढ्ने ओछ्याउने दिएर आश्रय दिँदै आएको छिमेकी सोमप्रसाद घिमिरेको भनाइ छ । आफ्नो घर नजिकैको परिवार चिसोबाट छट्पटिएको देखेपछि आफूहरुले सक्दो सहयोग गरेको घिमिरेले जानकारी दिनुभयो ।

आम्दानीको स्रोत नभएको र गरिखाने जग्गा जमिनसमेत थोरै हँुदा ऋण गरेर बनाएको घर पनि भत्किएपछि मृतकका परिवार विचल्लीमा परेका हुन् । “सरकारले दिएको रु १५ हजार जोगाएर राखेका थियौँ, छोराको काजकिरियामा सकिने भयो,” बुबा महेश्वर भन्नुहुन्छ – “अरु कुनै आउने ठाउँ छैन । यी नातिनातिना कसले पालनपोषण गरिदेला ?” अहिले मृतकका १० वर्षीय छोरा सरोज र श्रीमती निता धार्मिक संस्कारअनुसार काजकिरिया गर्न कोरा बारेर बसेका छन् । रासस