
– विमल योगी
काठमाडौं, १४ पुस । सांसदहरूले भूकम्पपीडित जनताको चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुँदा पनि वर्तमान सरकार मौन र सम्वेदनहीन रहेको भन्दै चर्को आलोचना गरेका छन् । उनीहरूले सरकारले पीडित जनतालाई सामान्य राहत दिन नसकेको भन्दै आलोचना गरे । उनीहरूले मुलुकमा सरकार छ कि छैन भनेर खोज्नु पर्ने अवस्था आएको बताए ।
नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज बसेको संसद बैठकमा बोल्ने सांसदहरूले नाकाबन्दीले जनताले सास्ती बेहोर्नु परिरहेका बेला सरकारले राहत दिनुका साटो कालोबजारी र भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाए । उनीहरूले कालोबजारी गर्ने र भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्न माग गरे ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद नवीन्द्रराज जोशीले भूकम्पपीडित जनता चिसोले मर्दा पनि सरकार राहत र उद्दारका लागि नलागेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सरकार राहत दिनेभन्दा पनि अन्य झिनामसिना कुरामा अल्मलिएको बताउनुभयो ।
‘सरकार कहाँ छ भनेर खोज्नु पर्ने आवस्था आएको छ’, सांसद जोशीले भन्नुभयो, ‘सरकारले भूकम्पबाट कठ्याङग्रिएकालाई राहत दिन सकेन । सरकार कानमा तेलमा हालेर बसेको छ । सरकार सम्वेदनशील छैन ।’ उहाँले प्रधानमन्त्री जनतालाई राहत दिनेभन्दा पनि मन्त्रिपरिषद् विस्तारमै व्यस्त रहेको आरोप लगाउनुभयो ।
‘सरकार कहाँ छ ? म सोध्न चाहन्छु । भूकम्पपीडित जनालाई दिने भनेको राहत पनि किन दिइएको छैन’, उहाँले भन्नुभयो, ‘जनता महँगीको मारमा छन् । औषधि पाएका छैनन् । दुःख पाएका छन् । कालोबजारी र भ्रष्टाचार बढेको छ । सरकारले गरेको अन्याय कति दिनसम्म हेर्न सकिन्छ ।’
एकीकृत माओवादीका सांसद श्यामकुमार श्रेष्ठले मुलुकमा नाकाबन्दीले जनताले दुःख पाउनु परेका बेला भूकम्पपीडित जनताले चिसोका कारण ज्यान गुमाउनु परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘दोलखामा चिसोले कठ्याङ्ग्रिएर १३ जनाको ज्यान गएको छ । भूकम्पपीडितले सरकारले दिने भनेको राहत पनि सहज रुपमा नपाउँदा धेरै अप्ठेरो स्थिति उत्पन्न भएको छ ।’
फोरम लोकतान्त्रिकका सांसद आशा चतुर्वेदीले नयाँ नेपालले जनतालाई कुनै पनि हालतमा स्वीकार्य नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले जनता यस्तो अवस्थामा पुगेका छन् कि तीन करोड जनता दैनिक उपभोग्य सामाग्रीबाट बञ्चित रहेका छन् ।’
‘भूकम्प गएको आठ महिना हुँदासम्म पनि प्राधिकरणले काम गरेको छैन’, सांसद चर्तुवेदीले भन्नुभयो, ‘नाकाबन्दीले पनि जनताले दुःख पाएका छन् । सरकारले जनतालाई राहत दिनुपर्छ ।’ उहाँले सरकारले जनतालाई दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउन नसकेको भन्दै आपत्ति जनाउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्ले नाकाबन्दीले जनताले इन्धन पाउन नसकेको भन्दै लोडसेडिङले जनता हैरान भएको बताउनुभयो । उहाँले जनतालाई दैनिक उपभोग्य सामाग्रीको सहज आपूर्ति गर्न माग गर्नुभयो ।
सांसद जयदेवी जोशीले वर्तमान सरकारले जनता भएको अनुभूति दिन सक्छ कि सक्दैन भनेर प्रश्न गर्नुभयो । उहाँले सरकारको दायित्व र आपूर्ति व्यवस्थाका विषयमा सदनलाई जवाफ दिनुपर्ने बताउनुभयो । सांसद जोशीले सरकार महँगी, भ्रष्टाचार र तस्करीलाई बढावा दिन लागेको आरोप लगाउनुभयो ।
बैठकमा एमाले सांसद रञ्जना सरकारले सर्लाही जिल्लाको हरपुर गाविस हत्या भएका एमाले जिल्ला सदस्य रामनरेश रायका दोषीलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘सर्लाही जिल्लामा आज बिहान हत्या गरिएका रामनरेश रायका दोषीलाई कारबाही गर्नुपर्छ । उहाँलाई धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ ।’












प्रतिक्रिया