६ कार्तिक २०८३, शुक्रबार

शून्यमा झरेको राजधानीको तापक्रम अझै घट्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa Piditकाठमाडौं, १० पुस । काठमाडौंमा तापक्रम शून्य डिग्रीमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार काठमाडौंको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियस मापन गरेको छ ।

महाशाखाले अझै तीन साता तापक्रम घट्ने आँकलन गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ । दुई वर्षअघि यही समयमा काठमाडौंको तापक्रम शून्य दशमलब ५ थियो ।

‘उत्तर–पश्चिमी हावाका कारण चिसो बढेर शून्यमा आइपुगेको छ, तर यो असामान्य होइन,’ मौसमविद् सुजन श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘गत वर्ष १ डिग्री, त्योभन्दा अघि शून्य दशमलब ५ पुगेको थियो, अहिले न्यूनतम तापक्रम शून्यमा झरेको छ । यसलाई असामान्य रूपमा लिन मिल्दैन । जनवरीको मध्यपछि मात्रै तापक्रम बढ्छ ।’

उनका अनुसार सन् १९७८ मा काठमाडौंको तापक्रम माइनस ३ दशमलब ५ डिग्री सेल्सियस पुगेको थियो । त्यसयता त्यति चिसो भएको छैन ।

अन्तर्राष्ट्रिय नियमअनुसार बिहान ८ बजेर ४५ मिनेटमा न्यूनतम र साँझ ५ बजेर ४५ मिनेटमा अधिकतम तापक्रम मापन भइरहेको छ ।

काठमाडौं उपत्यकाको प्रदूषणका कारण अधिकतम तापक्रम घटेको मौसमविद् श्रेष्ठले बताए । बिहीबार सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ८.४ डिग्री रेकर्ड भयो ।

यस्तै, डडेलधुरा, दिपायल र सुर्खेतमा पनि न्यूनतम तापक्रम क्रमशः १.५, १.४ र १.५ डिग्री रेकर्ड भएको छ । मुलुकका धेरैजसो भागको अधिकतम तापक्रममा समेत गिरावट आएको छ ।