काठमाडौं, १० पुस । सरकारले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयात गरी बेच्न अनुमति दिएसँगै विराट पेट्रोलियमले पहिलो चरणमा पेट्रोल बिक्री गर्ने भएको छ ।
यसअघि नेपाल आयल निगमले आह्वान गरेको ग्लोबल टेन्डरमा टेन्डर हात पारी इन्धन आयातको सम्झौतासमेत गरेको विराटले आफैँले बेच्ने गरी पेट्रोल आयात गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
चरम विवादमा परेको विराट पेट्रोलियमले बिहीबार पाँच ट्यांकर पेट्रोल ल्याएको छ ।
सरकारले निजी क्षेत्रलाई इन्धन ल्याएर लागत मूल्यमा आफैँ बेच्न स्वीकृति दिएपछि विराटले भारतको हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड (एचपिसिएल) बाट पाँच ट्यांकर पेट्रोल ल्याएको हो ।
बिहीबार राति विराटनगर नाका हुँदै विराटको पाँच ट्यांकर पेट्रोल नेपाल आएको भन्सार कार्यालयले जनाएको छ ।
‘यो नाकाबाट आयल निगमको सात ट्यांकर र विराट पेट्रोलियमको पाँच ट्यांकर भित्रिएको छ,’ भन्सार स्रोतले भन्यो । विराटले ल्याएको पेट्रोल आयल निगमले खरिद गर्नेछैन, उसले आफैँ बिक्री गर्नेछ ।
भारतीय मूलका पेट्रोलियम व्यापारी अर्जुन कार्कीको विराट पेट्रोलियम यसअघि आयल निगमका लागि महँगो मूल्यमा पेट्रोल–डिजेल बिक्री गर्न खोज्दा विवादमा तानिएको थियो ।
उसले भन्सारबाहेक पेट्रोल प्रतिलिटर एक सय ९९ र डिजेल एक सय ८२ रुपैयाँमा निगमलाई बिक्री गर्ने सम्झौता गरी आयातको अनुमति लिएको थियो ।
निगमले विराटलाई इन्धन खरिदका लागि गैरकानुनी रूपमा २० करोड रुपैयाँ भुक्तानीसमेत दिएको थियो । अग्रिम भुक्तानीको विषयलाई संसदीय समितिमा समेत चर्को आलोचना भएपछि विराटले इन्धन आयातका लागि भएको सम्झौता रद्द गरेको थियो ।
त्यसपछि आफैँ इन्धन बेच्ने गरी उसले आयातका लागि वाणिज्य विभागबाट अनुमति लिएको थियो ।
तीन वर्षअघि उसले नेपालमा पेट्रोलियम पदार्थ प्रशोधन कारखाना (रिफाइनरी) खोल्ने भन्दै आवेदन दिएको थियो । त्यतिखेर पनि उसले उपयुक्त व्यापारिक योजना पेस गर्न नसकेको ठहर गर्दै सरकारले अनुमति दिएको थिएन ।















प्रतिक्रिया