काठमाडौं, ९ पुस । कीर्तिपुरको चाल्नाखेलमा मंगलबार डीएसपी टीका केसीको कम्मरबाट हराएको पेस्तोल फेला परेको छ ।
महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रमसिंह थापाको सक्रियतामा ३१ घण्टापछि पेस्तोल फेला परेको यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
पेस्तोलसँगै टौदहबाट दिपेश कार्की पक्राउ परेका छन् । एसएसपी थापाले पेस्तोलसँगै कार्की पक्राउ परेको र थप अनुसन्धान भइरहेको यूनाइटेड पोष्टसँग बताए ।
उनलाई यो घटनाले ठूलो चुनौती थपिएको थियो । तर, अनुसन्धानमा पोख्त एसएसपी थापाको विशेष सक्रियतामा हतियारसहित व्यक्ति फेला परेपछि उनलाई ठूलो राहत भएको छ ।
पेस्तोल हराए लगत्तै टोली बनाएर खोजी गर्नु भन्दा छानविन समिति गठन गरी महानगरिय प्रहरी आयुक्त कार्यालयका प्रमुख प्रतापसिंह थापा हिरो बन्न खोजेका थिए ।
तर, पेस्तोल भेटिएपछि छानविन समितिको कुनै औचित्य नहुने भएको छ । कीर्तिपुर वृत्तका डीएसपी टीका केसी मंगलबार दिउँसो राष्ट्रपतिको सवारीका लागि बाहिर गएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि केन्द्रीय कार्यालयमा आउने कार्यक्रम थियो । डीएसपी केसी राष्ट्रपतिको सुरक्षामा खटिएपछि कीर्तिपुर वृत्तमा फर्पिङका इन्स्पेक्टर चन्द्रबहादुर केसीलाई खटाइएको थियो ।
एभरेष्ट ग्यासको डिपोमा उपभोक्ताले ग्यास नपाएपछि एक्कासी उद्योगको गेटमा तोडफोड गर्न थालेका थिए ।
एभरेष्ट ग्यास उद्योगका सञ्चालक शिव घिमिरे तथा म्यानेजर गोपाल धितालले सोमबार स्थानीयका अगाडि भाषण गर्दै मंगलबार बिहान ८ बजे ग्यास दिने आश्वासन दिएका थिए ।
प्रहरीको आग्रह अनुसार सञ्चालक घिमिरे र म्यानेजरले १० बजे नै ग्यास दिन तयार भए । ७ गते अर्थात मंगलबार बिहान १० बजे स्थानीय ग्यास पाउने आशमा लाइनमा बस्न पुगे ।
तर, ग्यास नपाएपछि उपभोक्ताको आक्रोशले सीमा नाघ्यो र अन्तिममा तोडफोडको घटना हुन पुग्यो । डीएसपी केसी घटनास्थलमा पुग्दा एउटा समूह अगाडिबाट तोडफोड गर्दै थियो भने अर्को समूह पछाडिबाट गएर उद्योगभित्र प्रवेश गर्ने प्रयास गर्दै थियो ।
प्रहरीले पछाडिबाट प्रवेश गरेको समूहलाई हटाउने प्रयास गर्दा भीड थप आक्रोषित भई डिएसपीमाथि नै खनियो ।
डीएसपी केसी टाउको जोगाउँदै भाग्न खोज्दा ओरालोमा लडेपछि उठेर हेर्दा कम्मरमा पेस्तोल थिएन । केसीले बोकेको चाइनिज मिनी पेस्तोलमा सात राउण्ड गोली लोड भएको अवस्थामा थियो ।















प्रतिक्रिया