काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रदेश नम्बर चारका नेकपा एमालेका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद र जिल्लाका पार्टी अध्यक्षहरुले आज भेटी चीनसँग जोडिएको कोरला नाका सञ्चालन गर्न र पोखरामा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्न ध्यानाकर्षण गराउनुभएको छ ।
नेकपा एमालेको केन्द्रीय कार्यालयमा भएको भेटमा उहाँहरुले प्रदेश नम्बर चारमा पर्ने उपल्लो मुस्ताङको छोन्हुप गाबिसमा रहेको कोरलानाका(नेचुङ भन्सार) शिघ्र सञ्चालनमा ल्याउनका लागि मित्रराष्ट्र चीनसँग कुटनीतिक पहल गर्न आग्रह गर्नुभयो । सो नाकापोखरा, बेनी, जोमसोम, लोमन्थाङकोरला सडकउत्तरको तिव्वत र दक्षिणको सुनौलीजोडने सबैभन्दाछोटो दूरीको नाका हो ।
ज्ञापनपत्र पेस गर्दै एमालेका पोलिटब्युरो सदस्य एवम् धवलागिरि इञ्चार्ज गणेश तिमल्सिनाले म्याग्दीको सदरमुकाम बेनीबाट १७६ किमी दूरीमा रहेको कोरला नाका सञ्चालनमा ल्याउन सरकारले छिटो पहल गर्नुपर्ने माग गर्नुभएको थियो । “यो नाका ४ नं प्रदेशको विकासका लागि कोसेढुङ्गा साबित हुनेछ, समग्र राष्ट्रिय विकासमा पनि यो नाका खुलेपछि उल्लेखनीय योगदान मिल्नेछ,” उहाँले भन्नुभयो ।
जोमसोमबाट कोरला नाकासम्म करिब १०० किमी सडक चार लेनको बनाउन र बेनीसम्मको ७६ किमी सडकको स्तरोन्नति गर्न सकेमा नाका छिटो सञ्चालनमा ल्याउन सकिने ४ नं प्रदेशवासीको विश्वास छ ।
पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विसं २०३१ मा तीन हजार १०६ रोपनी जग्गा अधिग्रहण गरिएकामा अहिलेसम्म निर्माण सुरु नभएकाले छिटो निर्माणको व्यवस्था मिलाउन पनि प्रधानमन्त्री ओलीसमक्ष सो अवसरमा माग गरिएको थियो ।
जवाफमा प्रधानमन्त्री ओलीले नाका खोल्न र विमानस्थल निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । पर्यटकीय क्षेत्रले भरिएको चार नं प्रदेशको विकास निर्माणमा सरकारले ध्यान दिने प्रतिबद्धता समेत प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभएको थियो ।















प्रतिक्रिया