काठमाडौँ, ३ पुस । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)ले सुरक्षित घर तथा आवास निर्माणका लागि गोरखा र सिन्धुपाल्चोकमा तालिम दिन सुरु गरेको छ ।
जाइकाले कालिगढ र घरधनी दुबैलाई घर निर्माणसम्बन्धी तालिम दिन लागेको हो । आजदेखि सुरु भएको तालिम पाँच दिनसम्म चल्नेछ ।
जाइकाले पहिलो समूह अन्तर्गत ४०० कालिगढ र एक हजार २०० घरधनीलाई चौतारा नगरपालिका सिन्धुपाल्चोकमा तालिम दिनेछ । यस्तै, गोरखाको बुङ्गकोट र बारपाक गाविसमा पनि घर निर्माणको तालिम दुई सातापछि मात्रै दिने तयारी गरिएको जाइकाले एक विज्ञप्तिमार्फत जनाएको छ ।
तालिमलाई व्यवस्थित गर्न जाइकाले चौतारा, मेलम्ची नगरपालिका, बाह्रबिसे, बुङ्कोट र बारपाक गाविसमा तालिम केन्द्र निर्माण गरिनुका साथै भूकम्प प्रतिरोधी नमूना घर पनि बनाइने छ । कालिगढलाई दिने तालिम शहरी विकास तथा भवन निर्माण विभागले तयार गरेको पाठ्यक्रमअनुसार सञ्चालन गरिनेछ ।
गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ र त्यसपछिका परकम्पका कारण मुलुकका १४ जिल्ला प्रत्यक्षरुपमा प्रभावित भएको थियो भने ३१ जिल्लामा सामान्य प्रभाव परेको थियो । भूकम्पका कारण करिब आठ लाख घर तथा आवास क्षतिग्रस्त भएको थियो । रासस















प्रतिक्रिया