काठमाडौं, २ पुस । नेपाली कांग्रेसले संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग छलफल र सहमति कायम गरेर अगाडि बढाउने निर्णय गरेको छ ।
नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज (बिहीबार) बसेको संसदीय दलको बैठकले मधेसी मोर्चासँग छलफल गरेर संविधान संशोधनको प्रस्तावलाई अगाडि बढाउने निर्णय गरेको कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो ।
‘संविधान संशोनको प्रस्तावलाई अगाडि बढाउने निर्णय भएको छ’, महामन्त्री सिंहले पत्रकारहरूसँग भन्नुभयो, ‘चित्त नबुझेका र भाषा नमिलेको छ भने छलफल र सहमति गरेर लैजानुपर्छ । मधेसी मोर्चासँग छलफल गरेर संशोधन प्रस्तावलाई अगाडि बढाउँछौँ ।’
कांग्रेसको सरकारका पालामा संसदमा दर्ता भएको संविधान संशोधनसम्बन्धी दुई वटा विधेयक वर्तमान सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले संसदमा पेश गर्नुभएको छ ।
कांग्रेसको दबाव र मधेसी मोर्चाको बिरोधका बावजुद संसदमा पेश भएको संविधान संशोधनको प्रस्तावमा छलफल हुन सकेको छैन ।
कांग्रेसको यो निर्णयसँगै भोलि शुक्रबार बस्ने संसदको बैठकमा संविधान संशोधनको विधेयक छलफलका लागि पेश हुने भएको छ ।












प्रतिक्रिया