३१ आश्विन २०८३, शनिबार

कञ्चनपुरको व्यवसायिक हित र आर्थिक विकास मुख्य लक्ष्य: वाशुदेव जोशी (महासचिव उम्मेदवार)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Binod Joshi

कञ्चनपुर उद्योग वाणिज्य संघको १५ औं कार्यकारणी समितिका लागि मंसिर ६ गते चुनाव हुँदैछ । निर्वाचन तालिनका अनुसार मंगलबार मनोनयन दर्ता गर्ने दिन चुनावी प्रतिस्पर्धामा २ प्यानलसहित अध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

महासचिवका लागि फरक प्यानलका २ जना प्रतिस्पर्धामा छन् । निवर्तमान १४ औं समितिमा सचिव पदको जिम्मेवारी निभइसकेका वाशुदेव जोशी ‘विनोद’ले अध्यक्षमा निवर्तमान अध्यक्ष गणेशदत्त जोशीको प्यानलबाट महासचिवका लागि उमेद्वारी दर्ता गराएका छन् ।

संगठनका लागि उनका सहकर्मीबाट ‘सरल व्यक्ति’का रुपमा मुल्यांकन गरिएका जोशीसँग वाणिज्य संघको निर्वाचन र तयारी सम्बन्धी दैनिक नेपालले गरेको कुराकानीको सम्पादित अंशः

प्यानल सहित चुनावी मैदानमा उत्रिनु भएको छ । कस्तो छ तयारी ?

– तयारी राम्रो छ । सबै व्यापारी र शुभेच्छुकसँगको भेटघाट, लामो छलफल र उहाँहरुकै आग्रहका अनुसार उमेद्वारी दिइएको हो । यस हिसाबले तयारी राम्रो छ ।

यस पटक महासचिवमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तपाईले आफ्नो उमेद्वारीको परिणाम बारे के पूर्वानुमान गर्नु भएको छ ?

– चुनावी प्रतिस्पर्धामा उत्रने सवै जनाको आ–आफ्नै तयारी हुन्छन् । मेरा प्रतिस्पर्धी मित्रको पनि आफ्नो प्रकारको तयारी होला । मैले आफ्नो जीतलाई प्रतिष्ठाको विषय भन्दा पनि समग्र व्यवसायी मित्रहरुको हितसँग जोडेको छु । उमेद्वारी दिनु भन्दा अगाडि धेरै जनासँग सल्लाह गरेको छु । प्राय सवैजसो व्यापारी र हाम्रा मतदाताका घर घरमा पुगेर मैले आफ्नो उमेद्वारी बारे जानकारी गराएको छु । र, सबै मेरा मतदाताहरुको सकारात्मक जवाफले मैले आफ्नो आधार बलियो भएको महसुस गरेको छु ।

चुनावी परिणाम सकरात्मक आएर विजयी भएपछि व्यवसायीका हितमा के गर्ने भन्ने सोच्नु भएको छ ?

Binod Joshi copy– मैले वर्तमान समितिमा सचिव पदमा आफ्नो जिम्मेवारी निभाएको छु । र यस अगाडि १३ औं समितिमा सदस्य पदमा रहेर मैले आफ्नो जिम्मेवारी निभाए । एकपटक सदस्य र अर्को पदाधिकारीको जिम्मेवारीले व्यवसायिक हक, हित तथा व्यवसाय विकासका लागि गर्न सकिने प्रयासका सम्बन्धमा धेरै अनुभव हासिल गर्ने मौका मिलेको छ । १४ औं कार्यसमितिकै कुरा गर्दा हामीले पहिलेका समितिको भन्दा केहि हदसम्म राम्रो काम गर्न सक्यौं । र, राम्रा कामको थालनी पनि ग¥यौं । यसबाट सवै व्यवसायी र आम सर्वसाधारण पनि खुसी हुनुहुन्छ । १५ औं कार्यसमितिमा निर्वाचित भएर हामीले १४ औं समितिमा रहेर पुरा गर्न नसकेका कामहरु पूर्ण गर्ने छौं । जसमा महाकालीमा पक्की पुल निर्माण गर्न पहल गर्ने, मजगाउँ विमानास्थललाई मर्मत गरि पूर्ण संचालनका लागि पहल गर्ने, दैजीको छेलामा औद्योगिक क्षेत्रको स्थापना गर्ने र जिल्लाको दक्षिणी क्षेत्र जोड्ने मुख्य सडक (कलुवापुर–बेलौरी) लाई कालोपत्रे गर्न पहल गर्ने हाम्रा मुख्य बाँकी काम छन् । हामीले १५ औं समितिमा यी कामहरुलाई पूर्णता दिने योजना बनाएका छौं । त्यस्तै पर्यटन मन्त्रालयको सहकार्यमा यहाँ धार्मिक तथा पर्यटकीय गन्त्व्यहरुको प्रवद्र्धन र आवश्यक भौतिक पूर्वाधारहरुको निर्माणका लागि पनि हाम्रो सक्रियता हुने छ । हामीले १५ औं कार्यसमितिका लागि औद्योगिक÷व्यवसायिक सँगै समग्र जिल्लाको विकासका लागि योजना बनाएका छौं । यहाँका स्थानीय राजनीतिक दलका नेतासँग पनि यस विषयमा छलफल भइरहेको छ । उहाँहरुले पनि हाम्रो योजनामा ऐक्यवद्धता जनाउनु भएको छ । र, अन्य सामाजिक संघ संस्था र सम्बन्धित सवै निकायसँग सहकार्य गरेर हामीले यी योजनाहरुलाई पूर्णता दिने दृढ संकल्प लिएका छौं ।

अरु समितिले पनि योजनाका विषयमा धेरै नै भाषण गर्छन् । कार्यान्वयको स्तरत कमै हुन्छ किन ?

– कुनै पनि व्यक्ति तथा समुहले चाहेर नराम्रो काम गर्दैन् । सार्वजनिक पदमा पुगेर नियतले नै नराम्रो काम गर्ने प्राय कमै हुन्छन् । राम्रो काम गर्नका लागि सवैको विश्वास जित्नका लागि राम्रो योजना हुनु पर्छ । कार्यान्वयनका लागि योजनाको व्यवस्थापन र आवश्यक आर्थिक स्रोत तथा अन्य निकायसँगको पहुँच विस्तार गरिनु पर्छ । हामीले १४ औं समितिमा रहेर काम गर्दा बनबासाका पुललाई ७ घण्टा खोल्दा धेरै ठाउँ धायौं । भारत सरकारसँग पटक पटक छलफल गर्यो । नेपालस्थित भारतीय दुतावासमा कति पटक पुगियो त्यसको यकिन गणना गर्न नै मुस्किल छ । अथक प्रयास र निरन्तरको मेहनतले पुल ७ घन्टा खोल्न सफल भयौं । त्यस्तै दैजीमा स्थापना गर्ने औद्योगिक क्षेत्र सम्बन्धी फाइल विगत केहि वर्षदेखि वन मन्त्रालयमा थन्किएको थियो । त्यसलाई सक्रिय बनाएर निरन्तरता दिन पनि हामीले धेरै पटक मन्त्रालय धायौं । अहिले उक्त फाइल मन्त्रिपरिषदमा पेश हुने तयारी छ । सायद केहि समयमै त्यसका बारे सकरात्मक नतिजा हामीले पाउने छौं । कार्यान्वयनका लागि स्रोतको निर्माण, पहुँचको विस्तार योजनाहरुको सहि व्यवस्थापन आवश्यक हुन्छ । जो हामीले १४ औं समितिमा काम गर्दा सिकेका छौं । हाम्रो प्यानलबाट पदाधिकारीमा उम्मेद्वारी दिनुभएको सवै जना १४ औं समितिमा काम गरेका हुनुहुन्छ । म लगायत सवै जनाले एक प्रकारको अनुभव हासिल गरेका भएर हामीले सुरु गरेका कामलाई पूर्णता दिन पनि १५ औं समितिमा सहकार्य गरेर जानु पर्छ भन्ने सल्लाहका साथ नै प्यानल घोषणा गरेका हौं ।

१४ औं कार्यसमितिका अरु धेरै जना पनि अर्को प्यानलमा हुनुहुन्छ ? किन उहाँहरुसँग सहकार्य हुन सकेन ?

– सवै जनाका आ–आफ्नै चाहाना हुन्छन् । व्यक्ति पिच्छेका फरक प्रबृत्ति पनि हुन्छन् । उहाँहरुले आफुलाई सजिलो पर्ने गरि प्यानल घोषणा गर्नु भएको छ । सायद व्यक्तिगत चाहानालाई बढी महत्व दिएर उहाँहरुको सहकार्य भएको होला । त्यो कुरा उहाँहरुलाई नै थाहा हुन्छ । त्यसमा हामीले धेरै प्रतिक्रिया दिने ठाउँ हुँदैन । लोकतान्त्रिक अभ्यासको सुन्दरता नै यही हो ।

अनि तपाईहरुका पनि प्यानल घोषणका व्यक्तिगत चाहाना होलान नि ?

– हाम्रा व्यक्तिगत चाहाना भन्दा पनि हाम्रा सपना छन् । यहाँको औद्योगिक विकास गर्ने सपना, यहाँका व्यवसायलाई सहि रुपमा व्यवस्थापन गरि दिगो बनाउने सपना । जिल्लाका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गरि पर्यटन व्यवसाय मार्फत आर्थिक विकास गर्ने सपना । यी सपना हाम्रा प्यानलका सवै उम्मेद्वारका सपना हुन् । हाम्रा सपनाहरुले मेल खाएकै कारण हामी सहकार्यको रुपमा प्यानल घोषणा गरेर चुनावी मैदानमा उत्रिएका हौं । र हाम्रो प्यानलको यो सपना यहाँका सवै उद्योगी व्यवसायी एवम् सम्पूर्ण जिल्लाबासीको सपना हो भन्ने हामीले बुझेका छौं ।

मतदातालाई आकर्षण गर्ने कुरा मात्र हुन कि ?

– हामी मतदातालाई आकर्षण गरेर राज्य संचालन गर्ने जिम्मेवारी पाउने चुनाव लडिरहेका छैनौं । हामी आफ्नै दाजुभाई र सहकर्मीको विश्वास र आत्मबललाई आत्मसात गरेर समग्र व्यवसायिक क्षेत्र र जिल्लाको विकास गर्न चाहान्छौं । हामीले मतदातासँग झुट बोल्नु भनेको स्वयं आफुसँग झुट बोल्नु हो । तपाई आफैं नै सोच्नुहोस्, कुनै मान्छे किन आफैसँग झुट बोल्ने हिम्मत गर्ला ? यी हाम्रा योजना सवै उद्योगी, व्यवसायी, राजनीतिक दल, नागरिक समाज र यहाँका सम्पूर्ण सरोकारवालासँगको छलफल र सल्लाहमा निर्माण गरिएका हुन् । हामीले योजना कार्यान्वयन गरि पूर्णता दिनका लागि पहल गर्ने हो । सहभागिता तपाई हामी सबैको हुने हो नि ।

धेरै कुरा गर्नुभयो । कुनै खास कुरा छन्, जो मतदातालाई भन्ने पर्ने छ ?

– हामी व्यवसायिक क्षेत्रको परिवर्तन र जिल्लाको आर्थिक विकासका लागि एउटा छुट्टै यात्राका लागि पाइला चाल्ने तयारीमा छौं । यो सम्पूर्ण व्यवसायीहरुका लागि गौरभको कुरा हो । उद्योग वाणिज्य संघ मार्फत धेरै कुरा हामीले गर्न सकेका छौं । र अझै धेरै गर्नु पनि छ । हामी तपाईहरुलाई सदैव गौरव गर्न लायक एउटा अभियानको थालनी गरिरहेका छौं । यो अभियानमा सहभागी हुनुहोस् । हाम्रो प्यानलका अनुभवी एवम् जुझारु तथा कर्मठ व्यक्तिलाई मतदान गर्नुहोस् । तपाईको मतको कदर गरेर हामी तपाईले गौरव गर्न मिल्ने धेरै काम गर्ने छौं ।

प्रस्तुतीः डम्मर राज भट्ट/महेन्द्रनगर