काठमाडौँ, १ पुस । संसदीय समितिले भारतबाहेक तेस्रो मुलुकसँग पहिलो सडक सञ्जाल जोडिएको ऐतिहासिक तातोपानी नाकाको विकल्प अर्काे नाका हुन नसक्ने प्रतिवेदन दिएको छ ।
सभामुख ओनसरी घर्तीलाई व्यवस्थापिका–संसद् विकास समितिले तातोपानी नाका र अरनिको राजमार्गको दुई दिन लगाएर गरेको स्थलगत अध्ययन भ्रमणपछि तयार गरेको प्रतिवेदन आज हस्तान्तरण गर्दै सभापति रवीन्द्र अधिकारीले सो कुरा बताउनुभएको हो ।
बर्सेनि रु सात अर्ब राजस्व सङ्कलन हुने गरेको, रु एक खर्ब ६० अर्बको व्यापार हुँदै आएको र अर्बाैको लगानी भइसकेको सन्दर्भमा यसलाई शीघ्र सञ्चालनमा ल्याउन सरकारले विशेष ध्यान पु¥याउन आवश्यक छ – प्रतिवेदन बुझाउने क्रममा सभापति अधिकारीले भन्नुभयो ।
उहाँले भन्नुभयो – तदारुकता देखाएर सरकारले उत्तरतर्फको नाकामा पुग्ने पहुँच मार्गलाई सुधार गरेर सञ्चालन गर्नुपर्नेमा तदारुकताको कुरा मुखले उच्च तहमा भनिए पनि व्यवहारमा हात खुट्टा चलेको देखिएन ।
एक पटक चासो दिइसकेपछि काम फत्ते नभएसम्म अल्मलिने र निस्क्रिय हुने काम सरकारका तर्फबाट हुनुभएन भन्दै सभापति अधिकारीले उत्तर र दक्षिण नाकामा पुग्ने बाटोलाई प्रभावकारी तुल्याएर नेपाललाई चीन र भारतको व्यापारिक केन्द्र बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।
विसं २०२० देखि सञ्चालनमा रहेको अरनिको राजमार्ग नेपालको चीनसँग पारवहन पहुँच प्रदान गर्ने पहिलो नाका हो । गत वैशाखमा आएको भूकम्पले यस मार्ग तथा आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक सम्पदाको क्षति भएपछि तातोपानी नाका निस्क्रिय हुँदै आएको छ ।
विकास समितिको कात्तिक २३ को बैठकले उत्तरतर्फका रसुवागढी–केरुङ, जोमसोम–कोरला र तातोपानी नाकाको स्थलगत भ्रमण गर्ने निर्णयानुसार यही मङ्सिर २५ र २६ गते तातोपानी नाकाको अध्ययन गरिएको हो ।
काठमाडौँको माइतीघरदेखि कोदारीसम्म ११४ किमी लम्बाइ रहेको अरनिको राजमार्ग उत्तरको छिमेकी मुलुक चीनसँगको प्रमुख सम्पर्क माध्यम बन्दै आएको छ ।
नाकाबन्दीबाट मुलुक सङ्कटमा रहेका बेला यो राजमार्ग पुनः सञ्चालनमा आए नेपाल र नेपाली जनतालाई निकै ठूलो राहत मिल्ने अपेक्षा गरिँदै आएको छ ।
अधिकांश राजमार्गस्थल कमजोर भू–धरातल भएका कारण पहिरो नियन्त्रण गर्ने कार्य जोखिमपूर्ण रहेको तथा नदी र पहराका कारण सडक फराकिलो पार्ने कार्य चुनौतीपूर्ण रहेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सडकबाट भूकम्प तथा वर्षात्को पहिरो नझिकिकनै एक लेनमा सवारी चलाइएको स्थितिले सरकारी निकायको उपस्थिति नदेखाएको तथा यसलाई शीघ्र सञ्चालनमा ल्याउन सरकारको तर्फबाट ठोस र सार्थक कूटनीतिक प्रयास नभएको प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौँलाई चीनको सीमासम्म जोड्ने सडकमध्ये चीनको व्यापारिक केन्द्र सिगात्सेसम्म पुग्ने सबैभन्दा कम दूरीको बढी भरपर्दाे सडक अरनिको राजमार्ग नै रहेको समितिको ठहर रहेको छ ।
समितिले भनेको छ – अन्तर्राष्ट्रिय आयात र पर्यटकीय आवागमनको दृष्टिले महत्वपूर्ण रहेको तातोपानी नाका अविलम्ब सञ्चालनमा ल्याउन नेपाल र चीनका उच्चस्तरका निकायबीच अबिलम्व वार्ता गरियोस् ।
सो अवसरमा सभामुख घर्तीले मुलुकले कठिन अवस्था भोगिरहेका बेला जनजीवनलाई सहज तुल्याउने सन्दर्भमा समितिले मेहनतका साथ प्रतिवेदन तयार गरेको भन्दै भ्रमण टोलीलाई धन्यवाद ज्ञापन गर्नुभयो । रासस













प्रतिक्रिया