काठमाडौं, १ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बीपी कोइरालालाई तत्कालीन राजा महेन्द्रले अपदस्थ गरी बन्दी बनाएको दिन पुस– १ अर्थात आजको दिन बैठक बोलाएर बीपीको अपमान भएको भन्दै केही केन्द्रीय सदस्यहरूले अपात्ति जनाएका छन् ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आज (बुधबार)देखि सुरू भएको केन्द्रीय कार्यसमितिमा पुस– १ गते बैठक बोलाएर बीपी कोइरालाको अपमान भएको कुरा उठेको हो ।
स्रोतका अनुसार केन्द्रीय सदस्य तथा सांसद सूर्यमान गुरुङले आजका दिन प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई तत्कालीन राजा महेन्द्रले अपदस्थ गरेको दिन पनि कांग्रेस शीर्ष नेताहरूले भुलेको भन्दै आपत्ति जनाउनु भएको थियो ।
‘आज अर्थात पुस– १ गते राजा महेन्द्रले बीपीलाई जेलमा हालेको दिन पनि पार्टीको बैठक बोलाउने हो ?’, बैठकमा गुरुङले दिएको अभिव्यक्ति उदृत गर्दै स्रोतले भन्यो, ‘यस्तो कार्यले बीपी कोइरालाको अपमान भयो । आजको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरौँ ।’
गुरुङको सो प्रस्तावमा केन्द्रीय सदस्य दीपक गिरीसहितका आधा दर्जन केन्द्रीय सदस्यहरूले समर्थन गरेका थिए ।
संविधानसभाबाट मुलुकमा नयाँ संविधान आइसकेको अवस्थामा ती पुराना कुरालाई लिएर बैठक रोक्न नहुनेभन्दै अपात्ति जनाएपछि बैठक सुचारु भएको थियो ।












प्रतिक्रिया