
– नरेन्द्रसिह कार्की
दार्चुला, १ पुस । उपप्रधान एवं रक्षामन्त्री भीम रावलले नेपालको संविधान समावेशीताको हिसाबले विश्वमै उत्कृष्ट भएको बताएका छन् ।
‘जनताको संविधान जनताकै माझमा’ राष्ट्रव्यापी प्रचार अभियान अन्तर्गत दार्चुला सदरमुकाम पुग्नुभएका मन्त्री रावलले सो कुरा बताएका हुन् ।
‘आफूलाई लोकतान्त्रिक मुलुक भन्नेहरुको संविधान नेपालको संविधानका सामू किचेर हल्का बनाइदिन्छ’ रावलले भने, अहिलेको संविधानमा राखिएको व्यवस्था नेपाली जनताको लागि गर्व हो । संविधानको धारा १६ देखि ४८ सम्मका मौलिक हकको व्यवस्था हेर्ने हो भने समानुपातिक र समावेशीको हिसाबले पर्याप्त छ ।’

राजनीतिक दलहरुबीच छलफल नगरी संविधान ल्याएको भनेर प्रचार गर्ने तराई केन्द्रीत दलहरुतर्फ संकेत गर्दै उनले भने, ‘आठ बर्षसम्म भएको छलफल के हो ?’ सीमा नाकामा बसेर नेपाली जनतामाथि अघोषित नाकाबन्दी गरेर दुःख दिनु हुँदैन ।’
नेपाली जनताले आफू अप्ठ्यारोमा बसी सहयोग गरेको प्रति धन्यवाद दिए । उनले भने– अब संविधान कार्यान्वयन गरी विकास, समृद्धिको ढोका खोल्नुपर्छ । नमिलेका कुरालाई संविधान संशोधनमार्फत मिलाउन सकिने भन्दै उनले नाकाबन्दी गरी नेपाली जनतालाई चोट दिएको सहन नसकिने बताए ।

विभिन्न विषम परिस्थितका कारण जनतामाँझ संविधान प्रचार अभियान कार्यक्रम ढिला भएको उनले बताए । संविधानजारी अगावैदेखिका अवरोधका कारण जनतासँग संविधानको व्यवस्था बारे जानकारी गराउन सकिएन भन्दै उनले भने– ‘संविधान मान्दैनौ भन्ने र संविधान जलाउँछु भन्नेहरुको कारण ढिला हुन पुग्यो ।’

उनले चीनसँग जोडिएको तिंकर नाका खुलाउन आफूले पहल गरिरहेको उल्लेख गर्दै उनले अझै यो विषयलाई सशक्त रुपमा उठाउने बचन दिए । उनले संविधान कार्यान्वयन पछि विकासले गति लिने उल्लेख गरे । दार्चुलाको चमेलिया जलविद्युत आयोजनालाई सरकारले प्राथमिकता दिएर काम सम्पन्न गराउने उनको भनाई छ ।
उपप्रधान एवं रक्षामन्त्री रावल हेलिकप्टरमार्फत सदरमुकाम खलंगा पुगेका थिए । उनले सदरमुकाम खलंगामा रहेको नेपाली सेनाको सत्रुभञ्जन गुल्ममा व्रिफिङ गरेको थिए । उनै बुधबार नै बझाङ जिल्लामा पनि सम्बोधन गर्ने कार्यक्रम छ ।















प्रतिक्रिया