काठमाडौँ, २९ मंसिर । मधेसमा आन्दोलनरत मधेसी मोर्चाका माग सम्बोधन गर्न सरकारले प्रतिबद्धता जनाएको छ ।
आन्दोलनमा नेतृत्व गरिरहेको दोस्रो मोर्चा संघीय समावेशी गठबन्धनसँग मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा माग सम्बोधन गर्न सरकार सकारात्मक देखिएको छ ।
वार्तामा सरकार र गठबन्धन दुवैले आ-आफ्नो धारणा राखेको र थप गृहकार्य गरी पुनःवार्ता गर्नेगरी टुङ्गिएको सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले जानकारी दिनुभयो ।
आजको वार्तामा सरकारी पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिन र संवादबाटै समस्याको समाधान निकाल्न गठबन्धनलाई आग्रह गरेको थियो ।
आफूहरुले सरकारसँग नौबुँदे माग राखेको र ती मागबारे अर्कोपटकको वार्तामा बुँदागत रुपमा छलफल गर्ने सहमति भएको अध्यक्ष झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– हाम्रो मागमा सरकार सकारात्मक पायौं । अर्काे वार्तामा अन्तिम निर्णय हुन्छ । माग सम्बोधन भएलगत्तै आन्दोलन फिर्ता लिने नेताहरुको भनाई छ ।
तराईमा दुई प्रदेश हुनुपर्ने, जनसङ्ख्याका आधारमा प्रदेशको सङ्ख्या तय गरिनुपर्ने, निर्वाचन क्षेत्र १०/१० वर्षमा पुनरावलोकन गरिनुपर्नेलगायत नौबुँदे माग वार्तामा गठबन्धनले प्रस्तुत गरेको थियो ।
वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल सहभागी हुनुहुन्थ्यो ।
गठबन्धनका तर्फबाट सङ्घीय सद्भावना पार्टीका अध्यक्ष झा, मधेसी जनाधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी, तराई मधेस अभियानका संयोजक जयप्रसाद गुप्ता हुनुहुन्थ्योे । रासस












प्रतिक्रिया