
जनकपुरधाम, २९ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार मिथिलाञ्चलको ऐतिहासिक विवाह पञ्चमी महोत्सवमा सरिक हुन जनकपुर आउने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति भण्डारी विवाह पञ्चमीको अवसरमा जनकपुरस्थित ऐतिहासिक तथा धार्मिक महत्वको जानकी मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
राष्ट्रपति भण्डारी जानकी मन्दिर आइपुग्नुहुँदा उहाँलाई मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले स्वागत गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीसँगै नेपालका लागि भारतीय राजदुत रणजित राय, प्रधानसेनापति तथा अन्य विशिष्ट व्यक्तिको सहभागिता रहने जनाइएको छ ।
मौसम सफा भए उहाँहरु बिहान ११ बजेदेखि ३ बजेभित्र आउने कार्यक्रम रहेको छ ।
यसैबीच जनकपुर आउने कार्यक्रमको विरोध गर्दै मधेसी मोर्चाले राष्ट्रपति भण्डारीको पुत्ला जनाएको छ । जनक चोकमा मोर्चाका कार्यकर्ताहरुले पुत्ला जलाएका हुन् ।
मोर्चाले कालो झण्डा देखाएर विरोध गर्ने तयारी समेत गरेको छ । सदभावनाका जिल्ला अध्यक्ष संजयकुमार साहले १६ बुँदे सम्झौतामा हस्ताक्षर गर्ने दलका नेताहरुलाई जनकपुर आगमनमा रोक लगाउने निर्णयअनुसार एमालेकी पूर्व उपाध्यक्ष भण्डारीलाई जिल्ला प्रवेशमा रोक लगाउने बताउनुभयो । रासस












प्रतिक्रिया