काठमाडौं, २९ मंसिर । लामो समयदेखि अबरोध रहँदै आएको व्यवस्थापिका संसदको बैठक मधेसी मोर्चा र थारु सांसदहरूको नाराबाजीका बीच आजबाट सुचारु भएको छ ।
निर्धातिर समयभन्दा निक्कै ढिलो सुरु भएको आजको बैठकमा नेपालको संविधान संशोधन गर्न बनेका दुई वटा विधेयक सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले पेश गर्नुभएको छ ।
सभामुखले समय दिएपछि कानुनमन्त्री खरेलले नेपालको संविधान (पहिलो संशोधन) २०७२ पेश गर्नुभएको हो । त्यसअघि सदनले मन्त्री खरेललाई संशोधन प्रस्ताव पेश गर्न अनुमति दिएको थियो । अनुमति पाएलगत्तै खरेलले नेपालको संविधान (पहिलो संशोधन) प्रस्ततु गर्नुभएको हो ।
अब भोलि पुस १ गते अपरान्ह ४ बजे बस्ने संसदको अर्को बैठकमा संविधान संशोधनसम्बन्धी बिधेयकमा छलफल हुनेछ ।
यसअघि, विधायन समितिका सभापति गंगा चौधरीले भूकम्पबाट प्रभवित संरचनाको पुनःनिर्माण विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७२ सदन समक्ष पेश गर्नुभएको थियो ।
मधेसी मोर्चाले भूकम्प प्राधिकरण विधेयक पेश गर्न दिने जनाए पनि आजको बैठकमा कार्यसूचीमा अरु विषय पनि रहेको भन्दै सदनमा नाराबाजी र घेराउ गरेको थियो । सदनमा नाराबाजी र घेराउको नेतृत्व मधेसी मोर्चाका नेता तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गर्नुभएको हो ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको प्रस्ताव एउटै कार्यसूचीमा राखेर अगाडि बढाए आफूहरूले सदन अबरोध नगर्ने जनाएको थियो । सोही आधारमा कांग्रेस, एमाले र एमाओवादी तथा सभामुख ओनसरी घर्तीको छलफलपछि सदन मधेसी मोर्चाको नाराबाजीका बीच चलाउने सहमति भएको थियो ।
सदन चलेपछि मधेसी मोर्चा रिसाएको छ । मोर्चाका सांसदहरूले आफूहरूका मागलाई बेवास्ता गरिएको भन्दै आक्रोस जनाएका हुन् ।












प्रतिक्रिया