काठमाडौं, २९ मंसिर । आफूसँग भएका ४५ प्रतिशत हतियार काम नलाग्ने भएपछि नेपाली सेनाले आधुनिक हतियार भित्र्याउने तयारी थालेको छ ।
त्यसका लागि सेनाले सरकारसँग बजेट माग गरेको छ । पुराना हतियारलाई विस्थापन गर्नका लागि बजेटको पहल गरिदिन मंगलबार सेनाले औपचारिक रुपमै व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिसँग आग्रह गरेको हो ।
समितिको बैठकमा बोल्दै प्रधान सेनापति राजेन्द्र क्षेत्रीले पुराना हतियार कामै नलाग्ने भएकाले आधुनिक हतियार ल्याउनका लागि बजेटको पहल गरिदिन समितिसँग आग्रह गरे । उनले भने– ‘काम नलाग्ने विस्थापन गरी आधुनिक हतियार भित्र्याउने हामीहरुको योजना रहेको छ तर, विस्थापन गर्नका लागि हामीसँग बजेट छैन् । पहल गरिदिन समितिसमक्ष निवेदन गर्दछु ।’
आधुनिक हतियार भित्र्याउन सेनाले सरकारसँग ८ अर्ब ६६ करोड रुपैयाँ मागेको हो । प्रधानसेनापति क्षेत्रीले गोली गठ्ठाको मौज्दात पनि निकै न्युन रहेको र तालिम नै प्रभावित हुने अवस्था आएको भन्दै आवश्यक बजेट निकासाको मागलाई गम्भिरतापूर्वक लिन आग्रह गरे । उनले पुराना हतियार विस्थापन गर्न र गोली गठ्ठा खरिद्का लागि वर्षमा कम्तिमा एक अर्ब रुपैयाँ दिए पुग्ने बताए ।
लोकतान्त्रिक मूल्य मान्यता र नागरिक सर्वोच्चताको सिद्धान्त अनुरुप राष्ट्रिय सुरक्षा लक्ष्य हासिल गर्नका लागि सरकारले दिएको जिम्मेवारी पूरा गर्न सेना प्रतिबद्ध रहेको क्षेत्रीको भनाई थियो ।
















प्रतिक्रिया