२३ कार्तिक २०८३, सोमबार

‘प्रधानमन्त्री केपी ओलीले संविधान उल्लंघन गर्नुभयो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli.काठमाडौं, २९ मंसिर । वरिष्ठ अधिवक्ता शेरबहादुर के.सी.ले नयाँ संविधान आएपछि मुलुकमा शासन व्यवस्था राम्रोसँग चल्ने र जनताले राहतको सास लिने अपेक्षा गरेकोमा ठीक उल्टो भएको भन्दै चिन्ता जनाउनुभएको छ ।

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा अधिवक्ता के.सी.ले दलहरुले थोरै बुद्धि पुगाउन नसक्दा मधेस केन्द्रित राजनीतिक दलका नेताहरु रिसाएको बताउनुभयो । ‘केही दिन रोकेर भए पनि संविधान जारी गरेको भए राम्रो हुने थियो’, उहाँले भन्नुभयो, ‘मधेसी दलहरुलाई मिलाउनका लागि संविधान संसोधन गर्नुपर्छ । राजनीतिक सहमति जुटाउनु पर्छ ।’

जारी भएको संविधान राम्रो रहेको प्रक्रिया दिनुभएका वरिष्ठ अधिवक्ता के.सी.ले पछिल्लो समयमा सत्तारुढ दलहरुबाटै संविधान उल्लंघनको कार्य भएको आरोप लगाउनुभयो । ‘प्रधानमन्त्री केपी ओलीले संविधानमा भएको व्यवस्थालाई कुल्चनु भएको छ’, उहाँले भन्नुभयो, ‘न्यायपरिषदको सदस्यलाई हटाउने निर्णय गरेर प्रधानमन्त्रीले संविधानको बर्खिलाप जानु भएको छ ।’

प्रधानमन्त्री ओलीले न्यायपरिषदका सदस्य रामप्रसाद सिटौलालाई हटाउने निर्णय गर्नुभएको थियो । यो निर्णयको कानुन व्यवसायीहरुले बिरोध गर्दै आएका छन् ।

मुलुकको अहिलेको समस्या समाधान गर्नका लागि सरकारले आफ्नो कुटनीतिक क्षमतालाई कार्यान्वयन गर्नुपर्ने वरिष्ठ अधिवक्ता के.सी.को सुझाव छ ।

अहिलेको आपूर्ति व्यवस्था र नाकाबन्दीको समस्या हटाउनका लागि सरकारले भारतसँग कुटनीतिक पहल गर्नुपर्ने उहाँको भनाइ छ । ‘चाहे जे भने पनि भारतसँग कुटनीतिक रुपमा वार्ता नगर्दासम्म मुलुकको समस्या समाधान हुँदैन’, वरिष्ठ अधिवक्ता के.सी.ले भन्नुभयो, ‘मुलुकभित्रको समस्या हामी राजनीतिक सहमति गरेर मिलाउँदै जाऔँला ।’

भारतले नाकाबन्दी लगाएर नेपालीलाई दुःख दिएकोमा के.सी.ले चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले सरकारलाई छिटौ बैकल्पिक व्यवस्था गरेर जनतालाई राहत दिन सुझाव दिनुभएको छ ।