काठमाडौं, २८ मंसिर । सरकारले विना तयारी मलेसिया सहित खाडीका ६ देशमा वैदेशिक रोजगारमा जाने कामदारलाई निःशुल्क भिसा र टिकटको निर्णय लागु गरेकाले अहिले कार्यान्वयनमा समस्या आएको वैदेशिक रोजगार व्यवसायीहरुले स्वीकार गरेका छन् ।
उनीहरुले यस्तो निर्णय लागु गर्नु अघि सरकारले व्यवसायी, रोजगारदाता मुलुकहरुसँग छलफल गरेको भए अहिले कार्यन्वयनमा कुनै समस्या नआउने बताएका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवसको पूर्वसन्ध्यामा बैदेशिक रोजगार प्रवद्र्धन वोर्ड र नेपाल बैदेशिक रोजगार प्रत्रकार समाजले सयुक्त रुपमा सोमवार काठमाडौमा आयोजना गरेको ‘ फ्री भिषा र फ्री टिकट कार्यान्वयन र वास्तविकता’ विषयक कार्यक्रममा मेनपावर व्यवसायीहरुले प्रयाप्त समय उपलब्ध नगराई सरकारले नियम लागु गर्दा मान्नै पर्ने भएकाले समस्या परेको स्वीकार गरेका छन् ।
कार्यक्रममा नेपाल बैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमोद खनालले व्यवसायीहरु पनि कम शुल्कमा विदेशमा नेपाली कामदार पठाउन तयार रहेको उल्लेख गर्दै भने- ‘तर व्यवसायीहरुले भोग्नु परेको समस्या सरकार र सरोकारवालाहरुले बुझेनन्’ । उनले निर्णय लागु गर्नु अघि सरकारले व्यवसायी, रोजगारदाता मुलुकसंग छलफल गरेको भए अहिले कार्यन्वयनमा कुनै समस्या नआउने समेत जीकिर गरे ।

सोही अवसरमा बरिष्ठ वैदेशिक रोजगार व्यवसायी अब्दुल सतारले फ्री भिषा र फ्री टिकट कार्यान्वयनमा वैदेशिक रोजगार ऐन नै बाधक भएको बताएका छन् । उनले भने- ‘हामी सरकारको हरेक नियम मान्न तयार छौ तर सरकार नै विरोधाभाष नियम बनाउँछ ।’ उनले सरकारी पक्षलाई कटाक्ष गर्दै भने- ‘जिरो कष्ट लागु गराउन सरकारी पक्षले नै श्रमग्राम ताहचलबाट थाल्नुपर्छ ।’
कार्यक्रममा प्रमुख अतिथि तथा श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यले वैदेशिक रोजगारका क्षेत्रका सवैमा इमान्दारिता भए फ्री भिसा र फ्री टिकटको निर्णय कार्यन्वयनमा कुनै समस्या नभएको बताए । सचिव आचार्यले मेनपावर व्यवसायीहरुलाई आग्रह गर्दै भने–‘ कामदारको भविष्यमा तपाईहरु जिम्मेवार बन्नैपर्छ ।’ फ्री भिसा र फ्री टिकट लागु भइसकेकाले यसका असहजतालाई अध्ययन गरेर प्रभावकारी बनाउन सरकार उद्धत रहेको हुँदा सबैलाई सहयोग गर्न सचिव आचार्यले आग्रह गरे ।
फ्री भिसा र फ्री टिकटको कार्यान्वयन र वास्तविकता विषयमा बैदेशिक रोजगार विभागका निर्देशक उमाकान्त पौडेलले कार्यपत्र प्रस्तुत गर्दै सवै पक्षको कमजोरीका कारण यो व्यवस्था प्रभावकारी हुन नसकेको उल्लेख गरे । कार्यपत्रको पौरखीका अध्यक्ष मञ्जु गुरुङ, कुमोद खनाल, बैदेशिक रोजगार प्रत्रकार समाजका पुर्व अध्यक्ष मदनकुमार श्रेष्ठले टिप्पणी गर्दै एकअर्कालाई आरोप प्रत्यारोप भन्दा पनि जिम्मेवार भएर समस्या समाधान गर्नु पर्ने औल्याए ।
फ्री भिसा र फ्री टिकट कार्यान्वयनका विषयमा अध्ययन र अनुगमन शुरु भएको बताउँदै श्रम तथा रोजगार मन्त्रालयका सहसचिव तथा प्रबक्ता गोबिन्दमणि भूर्तेलले व्यवसायीहरुका समस्या कहाँ छन् बसेर छलफल गर्ने र प्रभावकारी कार्यान्वयन गराउन सरकार नचुक्ने बताए ।
कार्यक्रमा बैदेशिक रोजगार प्रवद्र्धन वोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले, बैदेशिक रोजगार प्रतिनिधी ऐजेन्ट एशोसियनका अध्यक्ष खड्गबहादुर श्रेष्ठ, आप्रवासी कामदारका प्रतिनिधि, स्वास्थ्य व्यवसायी, संचारकर्मीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा फ्री भिसा र फ्री टिकटको प्रभावकारी कार्यान्वयनमा देखिएका समस्या तत्काल समाधान गर्दै वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सरल बनाउन सबै पक्ष लाग्ने बताए । समाजका महासचिव हरि थापाले संचालन गरेको कार्यक्रममा समाजले तयार पारेको भिडियो रिपोर्ट प्रस्तुत गरिएको थियो भने समाजका अध्यक्ष निरञ्जन ज्ञवालीले कार्यक्रमको सभापतित्व गरेका थिए ।
















प्रतिक्रिया