कञ्चनपुर उद्योग वाणिज्य संघको १३ औं समितिबाट सदस्यमा निर्वाचित भएर कार्यसमितिमा प्रवेश गरेका व्यवसायी परमानन्द भण्डारी १५ औं नयाँ कार्यसमितिका लागि सचिव पदमा उम्मेद्वारी दिने तयारीमा छन् । १४ औं कार्यसमितिका लागि समेत सचिव पदको उम्मेद्वारी दिएर हार व्यहोरे पनि उनलाई सदस्य पदमा मनोनयन गरिएको थियो ।
पर्यटन व्यवासायी भण्डारीलाई पर्यटन व्यवसाय सम्बन्धी राम्रो ज्ञान छ । उनी कञ्चनपुरमा पर्यटन व्यवसायको प्रभावकारि विकास गर्न सके आर्थिक विकास हुने ठान्छन् । नयाँ कार्यसमितिका लागि सचिव पदको लागि उम्मेद्वारी दिने तयारीमा रहेका भण्डारीसँग आगामी उद्योग वाणिज्य संघको नयाँ निर्वाचन र चुनावी तयारी सम्बन्धमा दैनिक नेपालले गरेको कुराकानिको सम्पादित अंशः
उद्योग वाणिज्य संघको १५ औं नयाँ कार्यसतिका लागि अधिवेशन हुँदैछ । कस्तो छ चुनावी तयारी ?
चुनावी तयारी राम्रो छ । विशेषतः शुभचिन्तक र समर्थक व्यवसायी साथिहरुको सुझावका आधारमा सचिव पदको लागि उम्मेद्वारी दिने तयारीमा छु ।
वर्तमान समितिका लागि पनि तत्कालिन अवस्थामा सचिव पदमा नै उम्मेद्वारी दिनुभएको थियो, त्यतिबेला हार्नु भयो । यसपटकको चुनावी माहौलबाट के अपेक्षा गर्नुभएको छ ?
त्यतिबेलाको अभ्यासले अहिले परिपक्व बनाएको महसुस गरेको छु । त्यतिबेला चुनावमा हारे पनि सवै व्यवसायी साथिले मेरा कामको मुल्याङ्कन गरेर मलाई कार्यसमितिमा समावेश गराइनुपर्ने आवश्यकता महसुस गर्नुभयो र मलाई सदस्य पदमा मनोनयन गरियो । खासमा मेरो कामको मुल्याङ्कन सबैजनाले गर्नुभएको छ । त्यसकारण पनि यसपटक सकारात्मक परिणाम आउनेमा म आशावादी छु ।
आगामी समितिमा निर्वाचित भइसकेपछि के गर्छु भन्ने योजना बनाउनु भएको छ ?
खासमा मेरो व्यवसायिक क्षेत्र भनेको पर्यटनसँग सम्बन्धित छ । र मेरो प्राथमिकता पर्यटन क्षेत्रप्रति नै बढी हुनेछ । यद्यपी अरु क्षेत्रका औद्योगिक तथा व्यवसायिक विकासका लागि पनि मेरो सक्रियता हुनेछ । तर, अरु क्षेत्रका व्यवसाय तथा उद्योगहरुको विकासका लागि पर्यटन क्षेत्रले उत्प्रेरकको रुपमा काम गर्छ । पर्यटकहरुको संख्या बढ्यो भने यहाँका स्थानीय उत्पादनको प्रयोग बढ्ने छ र यहाँको व्यवसाय फस्टाउँछ । यसहिसावले पर्यटन क्षेत्रको विकास गर्न सकियो भने यहाँको समग्र आर्थिक विकासका लागि राम्रो प्रभाव पर्छ भन्ने मेरो व्यक्तिगत बुझाई र अनुभव छ ।
उद्योगवाणिज्य संघमा यसअगिाडि पनि धेरै योजना बने । तर, कार्यान्वयनको चरण त्यति प्रभावकारी भएन् । योजना कार्यान्वयनका लागि तपाईको के प्रयास हुनेछ ?

उद्योग वाणिज्य संघमा नयाँ कार्यसमिति निर्माण भइसकेपछि अध्यक्ष सहितको टीमले योजना बनाउँछ । र, त्यसको कार्यान्वयनको लागि कार्यसमितिमा रहेका सदस्य र बाहिरका अन्य व्यवसायीको पनि उक्तिकै सहयोग र साथ हुन्छ । वर्तमान कार्यसमितिको कुरा गर्दा यस पटक अरु कार्यसमितिको भन्दा धेरै योजनाहरु कार्यान्वयन भएका छन् । जस्तो बनबासाको नाका ३ घण्टाबाट ७ घण्टा खोल्ने सम्बन्धमा । त्यसमा प्रगति भएको मान्नुपर्दछ । अनि दैजीको छेलमा स्थापना गर्ने भनिएको औद्योगिक क्षेत्रको फाइल केहि समयदेखि वनमन्त्रालयमा थन्किएको थियो । त्यसलाई हामीले सक्रिय बनाएका छौं । विभिन्न पटक वनमन्त्रालयका पदाधिकारी र वनमन्त्रीसँग पनि हामीले छलफल गरेर फाइल अगाडि बढाइदिन अनुरोध गरेका छौं ।
उद्योग वाणिज्य संघको चुनावका बेला व्यवसायीका हकहितका पनि बढी चर्चामा आउने गर्छन । यसमा तपाईले आगामी दिनमा गर्न सकिने प्रयासका बारेमा के योजना बनाउनु भएको छ ?
नेपालको कानून बमोजिम सम्बन्धित निकायमा दर्ता भएर संचालनमा आएका अद्योग तथा व्यवसायीक फर्मका संचालकहरुलाई पर्ने समस्या र त्यसको समाधानका लागि गरिने पहललाई व्यवसायिको हितका लागि गरिने कार्य भनेर बुझिन्छ । यसका लागि उद्योग वाणिज्य संघले सदैव परैवी गर्दै आएको छ । राज्यपक्षबाट उद्योगी तथा व्यवसायीमाथि हुने अन्यायका विरुद्ध उद्योग वाणिज्य संघ सदैव उभिएको छ । मैले व्यक्तिगत रुपमा भन्नु पर्दापनि म जहिले पनि व्यवसायिहरुको हितको लागि आवाज उठाउँदै आईरहेको छु । चाहे संघ भित्र वा बाहिर । आगामी समितिमा निर्वाचन भयो भने पनि म अझै व्यवसायीहरुको हित र अधिकारका लागि काम गर्नेछु । र, व्यवसायको व्यवस्थापन तथा प्रवद्र्धनका लागि पनि मेरो प्रयास हुनेछ ।
पर्यटन व्यवसायलाई तपाईले विशेष जोड दिँदै आउनु भएको छ । यसको विकासको संभावना कति देख्नु भएको छ ?
पर्यटन व्यवसायमा तत्काल धेरै ठुलो कमाई हुने भन्ने हुँदैन । निरन्तरको प्रयासले यसबाट क्रमिक रुपमा लाभ लिन सकिने हो । पर्यटन व्यवसायको विकासका लागि हाम्रो क्षेत्रमा राज्यपक्षबाट धेरै कुरा गर्नु आवश्यक छ । पहिलो क्रममा त यस क्षेत्रलाई राज्यले पर्यटकहरुको गन्तव्यको रुपमा विकास गर्नु पर्छ भन्ने हो । अनि अर्को, भौतिक पूर्वाधारहरुको विकास पनि त्यति नै महत्वपूर्ण छ । जस्तै सडकहरुको स्तारोन्नति र सडकहरुको विकास गर्नु पर्छ । जो राज्यको महत्वपूर्ण जिम्मेवारी पनि हो । नीजि र सामुदायिक सहकार्य मार्फत यस क्षेत्रमा पर्यटन व्यवसायको विकास हुने संभावना छ । पर्यटन व्यवसायको विकासले यहाँका उद्योग र व्यवसायहरुको पनि विकास हुन्छ । स्थानीयले राजगारी पाउँछन् । अनि स्थानीय वस्तुहरुको पनि बिक्री हुन्छ । यस क्षेत्रको लागि पर्यटनको विकास महत्वपूर्ण छ र यसको संभावना पनि धेरै छ ।
आफ्ना प्रतिनिधिप्रति हरेक क्षेत्रका मतदाताको कुनै न कुनै प्रकारको अपेक्षा राखेका हुन्छन् । तपाईप्रति पनि तपाईका मतदाताको कुनै अपेक्षा होला । आगामी कार्यसमितिमा निर्वाचित भए तपाईलाई मत दिने मतदाताहरुको पक्षमा तपाईले के गर्नु हुन्छ ?
मेरा मतदाता भनेका समस्त उद्योगी र व्यवसायी साथीहरुनै हो । मैले उहाँहरुकै हक र हितका लागि काम गर्ने हो । चाहे त्यो नीतिगत हो या अन्य विषय । म सवै विषयलाई व्यवसायीहरुको हितसँग जोडेर सोच्छु र कार्य पनि त्यहि अनुसार गर्छु । भेट भएका बेला प्राय सवैजसो साथीहरुसँग व्यवसायिक विकास र व्यवसायीहरुका हक हितका विषयमा केन्द्रीत रहेर कुरा गर्ने तथा उहाँहरुका कुरा सुन्ने गर्छु । व्यवसायीहरुको सुझाव अनुसार अझ पनि उहाँहरुको हक र हितमा काम गर्नेछु ।
प्रस्तुतीः डम्बर राज भट्ट/महेन्द्रनगर ।
















प्रतिक्रिया